विभिन्न चार मुलुकका एनआरएन अगुवाहरुको सहभागिता
पेरिस – नेपाली राजदूताबास पेरिसले हेर्ने मुलुकहरुमा रहेका नेपालीहरुका लागि एमआरपी राहदानी तथा कन्सुलर सेवा लगायतका बिषयमा हालै एक कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
फ़्रान्स, ग्रीस, पोर्चुगल र स्पेनमा बसेका नेपालीहरुलाई लक्षित गर्दै मेशिन रिडेबल पासपोर्ट तथा कन्सुलर सेवा राजदूताबासबाट अझ छिटो र सहज रुपमा प्रदान गर्ने उद्देश्यले यस सम्बन्धी समस्याहरु तथा समाधानका उपायहरु उपर छलफल गर्न गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा फ़्रान्स, पोर्चुगल तथा स्पेनका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरुको सहभागितामा राजदूताबासले गत जनवरी २६ मा पेरिसमा एक कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
कार्यशालामा सहभागीहरुले कार्यक्रम समसामयिक र उपयोगी रहेको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिताका लागि धन्यबाद व्यक्त गर्दै फ़्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले यस प्रकारको कार्यशालाका माध्यमबाट एमआरपी सम्बन्धी अद्याबधिक सूचना प्रदान गर्ने, विद्यमान प्रक्रिया सरलीकरण गर्ने र अन्य बिभिन्न प्रकारका विद्यमान कन्सुलर समस्याहरुको पहिचान गरी राजदूताबासको तर्फबाट समाधान गर्न सकिने समस्यालाई तत्कालै र माथिल्लो निकायबाट अपनाउनुपर्ने उपायका सम्बन्धमा सुझाव पठाउन सहयोग पुग्ने र अन्ततः राजदूतावास तथा एनआरएन बीच सहकार्य तथा सम्बन्ध पनि अझ मजबुत गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सरकारले एनआरएनप्रति लिएका सकारात्मक कदमहरुका बारेमा पनि प्रकाश पार्नुभएको थियो ।
साथै राजदूत श्रेष्ठले आउने दिनमा फ़्रान्समा रहेका अन्य संघसंस्थाहरुसंग पनि यस प्रकारको कार्यशाला आयोजना गरी यिनै विद्यमान समस्याका सम्बन्धमा अन्तरक्रिया गर्ने बताउनुभयो ।
सहभागीहरुलाई कार्यक्रममा राजदूतावासको तर्फबाट स्वागत गर्दै उपनियोग प्रमुख र काउन्सेलर रामबाबु ढकालले सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा यथाशक्य छिटो र सरल रुपमा प्रदान गर्न राजदूताबासमा प्रत्येक सेवाग्राहीको आवेदनको अबस्थाको अभिलेख दुरुस्त राखी टेलिफोन र इमेलबाट सम्बन्धितलाई सूचना प्रवाह गर्ने गरी आएको भनी उल्लेख गर्नुभयो ।
एनआरएनएका यूरोप क्षेत्रीय संयोजक अर्जुनकुमार श्रेष्ठले यस्ता किसिमको कार्यक्रमबाट राजदूताबास र सेवाग्राहीबीच समझदारी बृद्धि हुने र कामकारबाही छिटो छरितो गर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले यस प्रकारको सिर्जनशील तथा अनुकरणीय कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो । एनआरएनएका यूरोपका क्षेत्रीय उपसंयोजक सोमनाथ सापकोटा तथा एनआरएनएका अन्तर्राष्ट्रिय महिला सहसंयोजक श्रीमती रजनी प्रधानले पनि राजदूताबासले जनताका जल्दाबल्दा समस्याहरुप्रति चनाखो भै यस्तो कार्यक्रम आयोजना गरेर एनआरएनएका प्रतिनिधिहरुलाई सहभागी गराएकोमा सह्राना गर्नुभयो । पूर्व अध्यक्ष अर्जुन काफ़्लेको पनि उपस्थिति थियो ।
कार्यशालामा विदेशमा बस्ने नेपालीहरुले राहदानी प्राप्त गर्ने सम्बन्धमा र विदेशमा बस्ने नेपालीहरु सम्बन्धी कन्सुलर राजदूताबासबाट जारी गरिने विभिन्न प्रकारका कागजात तथा नेपाल सरकारका विभिन्न निकायहरुबाट जारी भएका कागजातको प्रमाणिकरण (लिगलाइजेशन, एटेस्टेशन जस्ता) विषयबस्तुहरु सम्बन्धी समस्याहरु र समाधानका उपायहरुबारे दुई सत्रमा छलफल गरिएको थियो । सो अवसरमा एनआरएन फ़्रान्सका अध्यक्ष घनश्याम पौडेल, पोर्चुगलका अध्यक्ष रमेशकुमार गुरुङ तथा स्पेनका अध्यक्ष एकराज गिरीले आ-आफ़्ना संस्थाका तर्फबाट ती मुलुकहरुमा नेपालीहरुले सामना गर्नुपरिरहेका समस्याहरु प्रस्तुत गर्नुभएको थियो भने नेपाल सरकार तथा नेपाली राजदूताबासका तर्फबाट तत्काल तथा दीर्घकालमा अपनाउनुपर्ने कदमहरुबारे सुझाव प्रस्तुत गर्नुभएको थियो ।
राजदूतावासबाट एमआरपी बनाउने प्रक्रिया, बिद्यमान समस्याहरु, कन्सुलर समस्याहरु सम्बन्धमा बिद्यमान नियम कानूनहरु, राहदानी नियमाबली तथा निर्देशिका एवम् परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट भएका व्यवस्थाहरु बारेमा राजदूताबासका तर्फबाट प्रकाश पारिएको थियो । नेपाली राजदूताबास, पेरिसले हालसालै छुट्टै एक टेलिफोनको हटलाइन जडान गरी सेवाग्राहीले राहदानी सम्बन्धी सूचना पाउने व्यबस्था मिलाईएको र इमेलबाट प्राप्त जिज्ञासाहरुको जवाफ यथाशक्य छिटो दिने गरेको, रित पुगेका राहदानीका फारामहरु प्रत्येक महिनाजसो नियमित रुपमा राहदानी विभागमा पठाउने गरिएको र राहदानी विभागमा पठाईएका राहदानी आवेदनहरु तथा त्यहाँबाट प्राप्त भएका राहदानीको सूचीहरुसमेत राजदूताबासको वेभसाइटमा प्रकाशित गर्ने गरिएकोले सेवाग्राहीले आफ़्नो आवदेनबारे राजदूताबासको वेभसाइटबाटै सूचना प्राप्त गर्न सक्ने व्यबस्था मिलाईएको उल्लेख गरिएको थियो । आवेदकले आफ़्नो पूरानो राहदानी र नेपाली नागरिकताको प्रमाणपत्र सक्कल अनिवार्य रुपमा पेश गर्नुपर्ने, यी दुई मध्ये एक कागज पेश नगर्नेको हकमा राहदानी विभाग मार्फत स्थानीय निकायमा बुझी जवाफ आउन समय लाग्ने गरेकोले र रित पुगेको फोटो तथा फ़र्म नपठाउनेको हकमा विलम्ब हुने गरेको जानकारी दिईएको थियो ।
कार्यक्रमको समापन सत्रमा छलफलका अवसरमा पहिचान भएका समस्याहरु तथा समाधानका उपायहरु सम्बन्धी सुझावहरुलाई समेटेको एक प्रतिवेदन अनुमोदन गरिएको थियो ।अन्त्यमा, सहचारी धनिकलाल महतोले राजदूताबासको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । कार्यशालाका सहभागीहरुको सम्मानमा राजदूत निवासमा एक रात्रिभोजको पनि आयोजना गरिएको थियो । ***








