समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामालाई ककरोच जनता पार्टी (सीजेपी) ले विद्यार्थी आन्दोलनको सफलता भन्दै स्वागत गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समार्फत ‘विद्यार्थी शक्ति अमर रहोस्’ लेख्दै आन्दोलनको जित भएको प्रतिक्रिया दिएको छ।
नीट–युजी (NEET-UG) परीक्षाको प्रश्नपत्र बाहिरिएको र परीक्षामा अनियमितता भएको भन्दै दिल्लीमा हप्तौँदेखि विद्यार्थीहरूले आन्दोलन गर्दै आएका थिए। यही दबाबबीच प्रधानले पद त्याग गरेका हुन्। राजीनामापछि जन्तर–मन्तरमा आन्दोलनरत विद्यार्थीहरूले खुसी मनाएका थिए। राजीनामा घोषणा गर्दै प्रधानले परीक्षासम्बन्धी विवादको नैतिक जिम्मेवारी आफूले लिएको बताएका छन्। सरकारले अनियमितता सार्वजनिक भएपछि तुरुन्तै सीबीआईमार्फत अनुसन्धान गराएको, परीक्षा रद्द गरी पुनः परीक्षा सञ्चालन गरेको पनि उनले उल्लेख गरेका छन्।
उनले पछिल्ला घटनाले आफू दुःखी भएको बताउँदै राष्ट्रिय एकता, विद्यार्थीको भविष्य र देशको हितलाई ध्यानमा राखेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको स्पष्ट पारे। साथै, युवालाई भ्रामक सूचना र अफवाहबाट सावधान रहन पनि आग्रह गरेका छन्।








