समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि रौतहटमा कालोमसी प्रहार भएको छ। बिहीबार राति गढीमाई नगरपालिका–४ मा जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा केही युवाले पछाडिबाट उनीमाथि मसी फ्यालेका हुन्।
घटनाको पुष्टि गर्दै सांसद पौडेलले राति करिब ८ बजे कार्यक्रमस्थलबाट फर्किरहेका बेला पछाडिबाट कालो पदार्थ प्रहार गरिएको बताए। उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ। प्रहारपछि आक्रमणकारीहरू उखुबारीतर्फ भागेका थिए। घटनाका क्रममा मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित नाराबाजी गर्दै पर्चासमेत वितरण गरेका थिए। उनीहरूले मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको भएको दाबी गर्दै नारा लगाएका थिए।
सांसद पौडेलका अनुसार कार्यक्रमअघि ती व्यक्तिहरूले आफूलाई मुस्लिम समुदायको कबरदाह (शव गाड्ने स्थान) अवलोकन गर्न आग्रह गरेका थिए। समय अभावका कारण अर्को दिन जाने बताएपछि पछि उनीहरू नै नाराबाजी गर्दै आएको आफूलाई लागेको उनले बताएका छन्।








