समाचार सुन्नुहोस :
काठमाडौँ – होर्मुज जलमार्गलाई केन्द्रमा राखेर अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिएको छ। अमेरिकी सेनाले बिहीबार लगातार १३औँ रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानले क्षेत्रीय जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाज र नाविकलाई जोखिममा पार्ने सैन्य क्षमता कमजोर बनाउन यो कारबाही गरिएको हो। साथै, होर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय जलयातायात सुरक्षित राख्न अभियान जारी रहने अमेरिकाको भनाइ छ।
आक्रमणपछि इरानले बन्दर अब्बास, केश्म द्वीप तथा उत्तर–पश्चिमका केही क्षेत्रमा विस्फोट भएको पुष्टि गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन। यता, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुई तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले अर्को महत्वपूर्ण समुद्री व्यापारिक मार्ग पनि अवरुद्ध गर्न सक्ने चेतावनी दिएका छन्।
बढ्दो तनावका कारण विश्व ऊर्जा बजार प्रभावित भएको छ। ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघिसकेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास होर्मुज जलमार्गबाट ओसारपसार हुने भएकाले विभिन्न देश वैकल्पिक समुद्री मार्गको खोजीमा जुटेका छन्।








