समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा फिर्ता नलिने स्पष्ट गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो निर्णय तत्काल केहीलाई असहज लागे पनि दीर्घकालमा सकारात्मक परिणाम दिने भएकाले यथावत् रहने बताएका छन्।
शिक्षामन्त्री पोखरेलले यस विषयमा विभिन्न असन्तुष्टिहरू आएका छन् भन्ने थाहा भएको तर यो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि निर्णय गरिएको बताए।अन्तर्राष्ट्रिय रुपमा पनि साप्ताहिक रूपमा दिइने २ दिनको बिदाको कार्यासम्पादनमा निकै सुधार भएको उदाहरण दिँदै उनले नेपालको हकमा पनि त्यही कुरा लागू गर्न खोजिएको बताए।
हाल सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र केही निजी कम्पनीमा आइतबार बिदा लागू भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा निजी क्षेत्रमा पनि यो व्यवस्था विस्तार गर्न सरकार प्रयासरत रहने जानकारी दिए।








