टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाको आतिथ्यतामा आयोजना हुन लागेको ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । जुलाई २५ तारिख शनिबारका दिन हुने ऐतिहासिक सम्मेलनमा सहभागी हुन विश्वका विभिन्न मुलुकबाट ४६ जना व्यावसायिक पत्रकारहरू जापानको राजधानी टोकियो आइपुगेका छन् ।
नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय सञ्जाललाई थप सुदृढ बनाउने लक्ष्य राखिएको यस सम्मेलनमा नेपालबाट ४१ जना, बेलायत (यूके) बाट ३ जना तथा अमेरिका र युरोपबाट १–१ जना पत्रकारको सहभागिता रहेको छ । प्रवासमा रहेका नेपाली पत्रकार र मातृभूमिको सञ्चार जगत्बीच सेतुको काम गर्ने अपेक्षा गरिएको यस कार्यक्रमले नेपाली सञ्चार क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास गरिएको छ ।
सम्मेलनलाई अझ विशिष्ट बनाउन नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भलाई जोडिएको छ । सोही अवसरमा जापानको परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको ७०औँ वर्षको आधिकारिक ‘लोगो’ सम्मेलनमा प्रयोग गरिने भएको छ । यसले कार्यक्रमलाई केवल पत्रकारहरूको भेला मात्र नबनाई दुई देशबीचको प्रगाढ सम्बन्धलाई उजागर गर्ने एक औपचारिक कूटनीतिक कडीका रूपमा समेत स्थापित गरेको छ ।
टोकियोमा हुने यस मन्थनमा डिजिटल पत्रकारिताका चुनौती, प्रेस स्वतन्त्रताको विश्वव्यापी अवस्था, सूचना प्रविधिको बढ्दो प्रभाव र प्रवासमा नेपाली पत्रकारिताको भूमिका जस्ता गहन विषयमा छलफल हुनेछ । विश्वभर छरिएका पत्रकारहरूले आ-आफ्नो कार्यक्षेत्रको अनुभव साटासाट गर्दै व्यावसायिक क्षमता अभिवृद्धिका लागि साझा मार्गचित्र तय गर्ने कार्यक्रम रहेको छ ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठले सम्मेलनका लागि सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय कार्य सम्पन्न भइसकेको जानकारी दिए । उनकाअनुसार विदेशी पाहुनाहरूको आवास, यातायात र सुरक्षादेखि लिएर कार्यक्रम सञ्चालनका सबै पक्षलाई चुस्त बनाइएको छ । ‘विश्वभरका नेपाली पत्रकारलाई एउटै मञ्चमा उभ्याएर नेपाली सञ्चार क्षेत्रका साझा चुनौती र सम्भावनाबारे बहस गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो सम्मेलनले नेपाली पत्रकारिताको अन्तर्राष्ट्रिय ओजलाई थप उच्च बनाउनेछ ।’








