टोकियो – दक्षिण कोरियाको डेजोन सहरस्थित ‘हनुवा एयरोस्पेस’को कारखानामा सोमबार भीषण विस्फोट र आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रकेटको इन्धन (Propellant) उत्पादन गर्ने ‘प्रोडक्सन लाइन’मा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार, घाइते भएका दुई जनामध्ये एकको शरीर नराम्ररी जलेको छ । उनीहरू विस्फोटपछि आफैँ कारखानाबाट बाहिर निस्कन सफल भएका थिए । स्वास्थ्य अधिकारीहरूले मृतकहरूको शव नराम्ररी क्षतविक्षत भएकाले हालसम्म उनीहरूको पहिचान हुन नसकेको जानकारी दिएका छन् । मृतकहरूमध्ये दुई जना २० वर्ष उमेर समूहका अस्थायी कामदार रहेको बताइएको छ ।
हनुवा एयरोस्पेसका अधिकारीहरूका अनुसार, रकेट इन्धन बनाउन प्रयोग गरिने औजारहरूबाट विस्फोटक पदार्थ सफा गर्न पानीको प्रयोग गरिरहेका बेला अचानक विस्फोट भएको देखिएको छ । यद्यपि, विस्फोटको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत सोन जे-इलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारसँग सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारी अधिकारीहरूलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विस्फोटको खबर सार्वजनिक भएलगत्तै ‘हनुवा एयरोस्पेस’को सेयर मूल्यमा २.८ प्रतिशत र यसको माउ कम्पनी ‘हनुवा कर्पोरेसन’को सेयरमा ३.४ प्रतिशतको गिरावट देखिएको छ । डेजोनस्थित यो कारखानाले ठूला प्रोपल्सन इन्जिनहरू उत्पादन गर्नुका साथै रकेट इन्धनको व्यवस्थापन गर्दछ । राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत यो संवेदनशील क्षेत्र भएकाले सुरक्षा निकायहरूलाई समेत कारखानाको भित्री नक्सा) प्राप्त गर्न चुनौतीपूर्ण भएको थियो ।








