टोकियो – जापान सरकारले आवासीय क्षेत्रको शान्ति र सुव्यवस्था कायम राख्न निजी घर वा कोठाहरू पर्यटकलाई भाडामा दिने ‘मिन्पाकु’ सेवामाथि स्थानीय निकायहरूले पूर्ण प्रतिबन्ध लगाउन सक्ने गरी बाटो खुला गरिदिएको छ । होहल्ला, जथाभाबी फोहोर फाल्ने प्रवृत्ति र अन्य अवरोधहरूबाट स्थानीय बासिन्दालाई जोगाउन सरकारले यस्तो निर्णय लिएको हो ।
जापान पर्यटन एजेन्सी र अन्य दुई सरकारी निकायले बुधबार देशभरका स्थानीय सरकारहरूलाई एक परिपत्र जारी गर्दै नयाँ प्रावधानबारे जानकारी गराएका हुन्। पछिल्लो समय मिन्पाकुको सङ्ख्या बढ्दै जाँदा आवासीय क्षेत्रको वातावरण बिग्रिएको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि सरकारले आफ्नो नीतिमा हेरफेर गरेको हो ।
जापानी कानुनअनुसार हाल घरधनीहरूले आफ्ना खाली घर वा कोठाहरू वर्षमा अधिकतम १८० दिनसम्म पर्यटकलाई भाडामा दिन पाउने व्यवस्था छ । तर, धेरै स्थानीय निकायहरूले आफ्नै अध्यादेशमार्फत यो सीमालाई ‘शून्य’ मा झारेर प्रभावकारी रूपमा प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए । सरकारको पछिल्लो परिपत्रले स्थानीय निकायको यो मागलाई सम्बोधन गर्दै आवासीय क्षेत्र वा शैक्षिक संस्थाहरू वरपरको वातावरण बिग्रिएमा त्यस्ता सेवामा रोक लगाउनु उपयुक्त हुने ठहर गरेको छ ।
यो निर्णयलाई केन्द्र सरकारको पुरानो अडानमा आएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ। यसअघि सरकारले पर्यटन प्रवर्द्धनका लागि मिन्पाकुमाथि प्रतिबन्ध लगाउनु ‘अनुपयुक्त’ हुने बताउँदै आएको थियो । तर, अब भने नागरिकको जीवनस्तर र शान्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
पहिलेदेखि सञ्चालनमा रहेका आवासहरूको हकमा यदि अन्य कुनै विकल्पले समस्या समाधान नभएमा निश्चित सहुलियत अवधि पछि सेवा सञ्चालनमा रोक वा व्यावसायिक दिनहरूमा कटौती गर्न सकिनेछ ।
यसका साथै, स्थानीय सरकारहरूले अब मिन्पाकु सञ्चालकहरूलाई अनिवार्य रूपमा ‘ध्वनि मापन यन्त्र’ जडान गर्न र प्रवेशद्वारहरूमा क्यामरा राख्न लगाउन सक्नेछन् । यसबाट पर्यटकहरूको व्यवहार र होहल्लाको तथ्याङ्क सङ्कलन गरी आवश्यक कारबाही गर्न सहज हुनेछ ।








