समाचार सुन्नुहोस :
काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले जनतामा विश्वास र आशा जगाउन नसक्दा देशमा निराशा बढ्दै गएको बताएका छन्। पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले आम नागरिकसँगै उद्योगी–व्यवसायी पनि सरकारप्रति निराश बनेको बताए।
घिसिङले बढ्दो निराशाकै कारण व्यापारी र युवाहरू आत्मदाहजस्ता दुःखद घटनातर्फ धकेलिएको उल्लेख गर्दै त्यसमा सरकार पनि केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरे। उनले जनताको अपेक्षा पूरा गर्न नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने चेतावनीसमेत दिए।
उनले उज्यालो नेपाल पार्टी कुनै क्षणिक राजनीतिक लाभका लागि अघि नबढ्ने स्पष्ट पार्दै अब देशभर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए। वर्षायामपछि तीन महिनासम्म गाउँ–गाउँ पुगेर नागरिकका समस्या बुझ्ने कार्यक्रम तय गरिएको उनले बताए। साथै, आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्नो पार्टीले उल्लेखनीय सफलता हासिल गर्ने दाबी पनि गरे।








