Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

जापानमा हरेक वर्ष गर्मी मौसम अझ कठिन, असहज र जोखिमपूर्ण बन्दै गएको अनुभव गर्न थालिएको छ । विगतमा जुलाई र अगस्टलाई मुख्य गर्मीको समय मानिन्थ्यो, तर पछिल्ला वर्षहरूमा जुन महिनादेखि नै अत्यधिक तापक्रम, उच्च आर्द्रता र लगातार तातो रातको सामना गर्नुपर्ने अवस्था आएको छ । मौसम विभाग तथा स्थानीय निकायहरूले बारम्बार जारी गर्ने ‘हिटस्ट्रोक ‘एलर्ट’ अब सामान्य सूचनाजस्तो देखिन थाले पनि वास्तवमा यो मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित गम्भीर चेतावनी हो ।

जापानको गर्मी केवल तापक्रमका कारण मात्र खतरनाक हुँदैन । यहाँको उच्च आर्द्रताले शरीरबाट पसिना निस्किए पनि त्यसलाई सहजै सुक्न दिँदैन । परिणामस्वरूप शरीरको तापक्रम बढ्दै जान्छ र शरीरले आफूलाई चिसो राख्ने प्राकृतिक क्षमता कमजोर हुन्छ । यही अवस्थाबाट थकान, चक्कर, टाउको दुखाइ, वाकवाकी, मांसपेशी बाउँडिने, होस हराउने र गम्भीर अवस्थामा अंगहरूमा क्षति पुग्नेसम्मको जोखिम हुन सक्छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, निर्माण तथा बाहिरी क्षेत्रमा काम गर्ने श्रमिक, खेलाडी र पर्याप्त आराम नपाउने व्यक्तिहरू बढी जोखिममा हुन्छन् ।
जापानमा बसोबास गर्ने विदेशी समुदायका लागि यो चुनौती अझ जटिल हुन सक्छ । भाषागत समस्या, सरकारी सूचना नबुझ्ने अवस्था, काममा अनुपस्थित हुन नसक्ने बाध्यता तथा सानो कोठामा वातानुकूलित
सुविधा नहुनुजस्ता कारणले धेरै मानिस जोखिममा पर्न सक्छन् । कतिपय मानिसले विद्युत् महसुल बढ्ने डरले एयर कन्डिसनर नचलाउने गर्छन् । तर स्वास्थ्य र जीवनभन्दा बिजुलीको खर्च ठूलो हुन सक्दैन । अत्यधिक गर्मीमा एयर कन्डिसनर प्रयोग गर्नु विलासिता नभई जीवनरक्षाको आवश्यक उपाय हो ।

यस्तो अवस्थामा सरकारले एलर्ट जारी गर्नु मात्र पर्याप्त हुँदैन । स्थानीय निकायहरूले बहुभाषिक सूचना प्रवाह, सार्वजनिक ‘कुलिङ सेन्टर’ को विस्तार, वृद्धवृद्धाको नियमित स्वास्थ्य जाँच तथा बाहिरी श्रमिकका लागि अनिवार्य विश्रामको व्यवस्था गर्न आवश्यक देखिन्छ । कम्पनीहरूले उत्पादन र नाफाभन्दा पहिले कर्मचारीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । अत्यधिक गर्मीमा कामको समय परिवर्तन, छोटो-छोटो विश्राम, चिसो पानी, नुन तथा खनिजयुक्त पेयपदार्थको उपलब्धता र स्वास्थ्य अवस्था जाँच्ने जिम्मेवारी रोजगारदाताले लिनुपर्छ ।

व्यक्तिगत सतर्कता पनि उत्तिकै आवश्यक छ । तिर्खा नलाग्दै पानी पिउने, अत्यधिक मदिरा सेवन नगर्ने, हल्का र हावा छिर्ने पातलो कपडा लगाउने, घाममा टोपी वा छाता प्रयोग गर्ने तथा दिउँसोको चर्को घाममा सकेसम्म बाहिर ननिस्कने बानी बसाल्नुपर्छ । घरमा एक्लै बस्ने वृद्धवृद्धा वा बिरामी व्यक्तिको छिमेकी र आफन्तले नियमित खबर लिनु सामाजिक जिम्मेवारी हो । जलवायु परिवर्तनका कारण भविष्यमा जापानको गर्मी अझ कठोर हुन सक्ने संकेतहरु स्पष्ट देखिएका छन् । त्यसैले हिटस्ट्रोकलाई मौसमी असुविधा होइन, राष्ट्रिय जनस्वास्थ्य चुनौतीका रूपमा लिनुपर्छ । समयमै सावधानी, जिम्मेवार कार्यस्थल र समुदायस्तरको सहकार्यले मात्र गर्मीबाट हुने अनावश्यक मृत्यु र स्वास्थ्य क्षति घटाउन सकिन्छ ।

जापानमा नेपाली समुदाय तीब्र गतिमा ठूलो हुँदै गईरहेको छ । विशेषगरी खुल्ला ठाउँमा गरिने भेला, जमघट जस्ता सार्बजनिक कार्यक्रमहरु चर्को गर्मीको महिनाहरुमा नभई अन्य अनुकुल महिनाहरुमा गरिनु उपयुक्त हुन्छ । ब्यक्तिको जीवनमा आईपर्न सक्ने आकस्मिक स्वास्थ्य सम्बन्धि संभावित जोखिमप्रति नेपाली समुदाय त्यति गम्भीर बनेको देखिदैंन । दिनप्रतिदिन बढ्दो उखरमाउलो गर्मी र यसबाट हुन सक्ने संभावित जोखिमबाट बच्न सर्बसाधारण सबैमा यथोचित जनचेतना फैलाउनु जरुरी छ । जापानमा खुलेका सयौं संघसंस्थाहरुले मानव जीवनका अति आवश्यक र महत्वपूर्ण सवालमा नेपाली सोसाइटीलाई ठिक ढंगले गाइड गर्न सकेका छैनन । युवा आत्महत्याका दर बढेका छन्, विद्यार्थीहरुका समस्या उत्तिकै कहालिलाग्दा छन्, व्यवसायिक क्षेत्रमा संलग्न ठूलो संख्याका नेपालीहरु जापानको फेरिएको विदेशी नीति सम्बन्धि प्रावधानले अहिले प्रभावित छन्, दैनिक जीवनलाई सहज बनाउन जापानमा भाषाको उच्च महत्व बारे बुझाउन सकिएको छैन । त्यसैले संघसंस्थाहरु मनोरञ्जन प्रधान गतिविधिमा हौसिनुभन्दा प्रवासी जीवनका अति संवेदनशील विषयमा ध्यान दिन अत्यन्त जरुरी छ । ***

तपाईको प्रतिक्रिया