Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

टोकियो – जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र ओदाइबा शनिबारदेखि पूर्णतः नेपाली रङमा सजिएको छ । नेपाली कला, संस्कृति, र मौलिकताको विश्वव्यापी प्रवर्द्धन गर्ने उद्देश्यका साथ १५औँ संस्करणको ‘नेपाल फेस्टिभल २०२६’ को भव्य शुभारम्भ भएको हो ।

जापानस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको संयुक्त आयोजनामा सुरु भएको यो महोत्सव यस वर्ष पहिलो पटक लगातार तीन दिनसम्म सञ्चालन हुँदैछ । महोत्सवको औपचारिक उद्घाटन प्रमुख अतिथि जापान सरकारका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री नागाई मानाबु, नेपालबाट आएका सांसदहरू, कार्यवाहक राजदूत र आयोजक समितिका पदाधिकारीहरूले संयुक्त रूपमा १५ वटा दियो प्रज्वलन गरेर गरेका थिए ।

उद्घाटनपूर्व टोकियोका सडकमा निकालिएको पञ्चैबाजासहितको मौलिक झाँकी र विभिन्न जातजातिका भेषभूषाले ओदाइबा पुग्ने हजारौँ विदेशी पर्यटकको ध्यान खिचेको थियो ।राज्यमन्त्री नागाईको सम्बोधन : महोत्सवलाई सम्बोधन गर्दै जापानका पर्यटन राज्यमन्त्री नागाई मानाबुले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध ७०औँ वर्षमा प्रवेश गरेको अवसरमा यो फेस्टिभल हुनु गौरवको कुरा भएको बताए । उनले भने, ‘नेपाली समुदायले जापानको आर्थिक र सामाजिक विकासमा पुर्‍याएको योगदान प्रशंसनीय छ । नेपालीहरूको मेहेनत, इमानदारिता र सहयोगी भावनाले जापानी नागरिकको मन जितेको छ । यो महोत्सवले जापानी जनतालाई नेपालको निकै नजिक पुर्‍याउनेछ र दुई देशबीचको मित्रतालाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

नेपालबाट विशेष अतिथिका रूपमा आएका सांसद ज्ञानेन्द्र शाहीले प्रवासमा रहेका नेपालीहरूले भोगेका समस्या र उनीहरूको योगदानका बारेमा निकै ओझिलो सम्बोधन गरेका थिए । उनले भने, ‘तपाईंहरूले रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको छ, तर राज्यले तपाईंहरूका लागि के गर्‍यो भन्ने प्रश्न सधैँ बाँकी छ । जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको स्वास्थ्य बिमा, श्रम अधिकार र कानुनी सुरक्षाका विषयमा म नेपाल फर्केलगत्तै संसद्मा आवाज उठाउनेछु ।’सांसद शाहीले जापानमा हुर्कदै गरेको दोस्रो पुस्तालाई लक्षित गर्दै थपे, ‘हाम्रो भाषा र संस्कृति नै हाम्रो ठूलो परिचय हो । ओदाइबाको यो मञ्चमा नेपाली बाजा गुञ्जिरहँदा प्रत्येक नेपालीको शिर गर्वले उच्च भएको छ । अब हामीले केवल श्रम मात्र होइन, नेपाली बौद्धिकता र संस्कृतिलाई पनि विश्व बजारमा बेच्नुपर्छ ।’

अर्का अतिथि सांसद खगेन्द्र सुनारले नेपाली कला र शिल्पीको प्रशंसा गर्दै प्रवासमा रहेका नेपालीहरू नै नेपालका असली राजदूत भएको बताउनुभयो । उनले यो फेस्टिभलले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।एनआरएनए जापानका अध्यक्ष एवं फेस्टिभल संयोजक सुबास लामिछानेले यस वर्षको महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई एउटा ऐतिहासिक सामाजिक अभियान भएको बताए । उनले चिबामा निर्माण भइरहेको ‘नेपाल हाउस’ का बारेमा प्रकाश पार्दै भने, ‘जापानमा हाम्रो आफ्नै घर ‘नेपाल हाउस’ बनाउने अभियानमा हामी जुटेका छौँ । फेस्टिभलबाट हुने आम्दानी त्यही परियोजनामा खर्च गरिनेछ । त्यहाँ पशुपतिनाथ र बुद्धको मन्दिरसहितको सांस्कृतिक केन्द्र हुनेछ, जसले जापानमा हाम्रा सन्ततिलाई नेपाली संस्कार सिकाउनेछ ।’

जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासले जापानमा रहेका नेपालीहरूको हितका लागि सधैँ अभिभावकीय भूमिका निर्वाह गर्ने बताउँदै यस्ता महोत्सवले नेपालको पर्यटनलाई जापानी समुदायमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।फेस्टिभलको पहिलो दिन तामाङ सेलो, सोरठी, देउडा र नेवारी नृत्यले ओदाइबालाई गुञ्जायमान बनायो । चर्चित गायकहरू अर्जुन सापकोटा, शान्ता रानी परियार, पूर्ण डोङ र सुनील विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । महोत्सवमा ३० भन्दा बढी स्टलहरू रहेका छन्, जहाँ नेपाली खानाका परिकार मोमो, सेलरोटीका साथै पहिलो पटक पाँचवटा ठूला नेपाली ब्रान्डका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् ।

नेपाली हस्तकला, चिया, कफी र अर्गानिक उत्पादनका स्टलहरूमा जापानी नागरिकको बाक्लो उपस्थिति देखिएको छ । जुलाई २० सम्म चल्ने यो महोत्सवमा अझै विशेष सांस्कृतिक कार्यक्रम र व्यापारिक अन्तर्क्रियाहरू हुने आयोजकले जनाएका छन् । ओदाइबामा सुरु भएको यो तीन दिने उत्सवले प्रवासमा नेपाली एकताको बलियो सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया