Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

टोकियो – कोरोना महामारीपछि विश्वभर र विशेष गरी जापानमा ‘रिमोट वर्क’ (घरबाटै गरिने काम) को संस्कृति निकै फस्टाएको छ । कार्यालय जानु नपर्ने र समयको लचकता जस्ता सुविधाहरूले सुरुमा यसलाई निकै फलदायी मानिए पनि, अहिले यसको अर्को अँध्यारो पाटो उजागर हुन थालेको छ ।

विज्ञहरूका अनुसार, लामो समयसम्म मानिसहरूसँगको भौतिक सम्पर्कबाट टाढिँदा कर्मचारीहरूमा एक्लोपन र गम्भीर डिप्रेसनको जोखिम बढ्दै गएको छ । ‘के मैले गरिरहेको काम सही छ ?’ रिमोट वर्क सुरु गरेदेखि धेरै कर्मचारीहरूको मनमा उब्जिने यो साझा प्रश्न र अन्योल नै तनावको मुख्य कारण बनेको छ ।

टोकियोका २० वर्षीय एक ‘सिस्टम इन्जिनियर’को अनुभव यसको ज्वलन्त उदाहरण हो । नयाँ जागिर सुरु गर्दा उनले पूर्ण रूपमा घरबाटै काम गर्ने विकल्प रोजे । कार्यस्थलमा हुने भौतिक संवादको अभावले उनलाई ठूलो समस्यामा पार्यो । वरिष्ठ सहकर्मीहरूलाई म्यासेजमार्फत सोधिएका प्रश्नहरूको जवाफ तुरुन्तै नआउँदा उनी सधैँ अन्योलमा रहन्थे । बिस्तारै यो अन्योल ‘एन्जाइटी’ र अनिद्रामा बदलियो । अहिले त उनलाई कम्प्युटर खोल्दा मात्रै पनि मुटुको धड्कन बढ्ने र काम सुरु गर्नै नसक्ने समस्या हुन थालेको छ ।

प्रतिष्ठित अमेरिकी वैज्ञानिक जर्नल ‘साइन्स’मा हालै प्रकाशित एक अध्ययनअनुसार रिमोट वर्क गर्न मिल्ने पेशामा रहेका कर्मचारीहरू अन्य कर्मचारीको तुलनामा दैनिक औसत एक घण्टा बढी समय एक्लै बिताउँछन् । ५ लाख ८८ हजारभन्दा बढी कर्मचारीमा गरिएको उक्त विश्लेषणले सामाजिक सम्पर्क खुम्चिँदै गएको र कार्यालयपछिको समयमा साथीभाइसँग बिताउने अवसरहरू पनि घट्दै गएको देखाएको छ ।

मनोवैज्ञानिक तनावका सूचकहरू (विशेष गरी डिप्रेसन र एन्जाइटी) रिमोट वर्कको विस्तारसँगै ३० प्रतिशतले बढेको पाइएको छ । विशेष गरी एक्लै बस्ने कर्मचारीहरूमा यो असर अन्यको तुलनामा दोब्बर बढी देखिएको छ ।जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यहाँका करिब आधा निजी कम्पनीहरूले टेलिवर्क प्रणाली अपनाएका छन् । १३ हजार कर्मचारीमा गरिएको एक जापानी अध्ययनले हप्तामा चार दिन वा सोभन्दा बढी घरबाटै काम गर्नेहरूमा एक्लोपन महसुस गर्ने सम्भावना निकै उच्च रहेको देखाएको छ ।

टोकियोको आकासाका साइकोसोम्याटिक मेडिसिन क्लिनिककी निर्देशक डा. सेराकी मियामोतो भन्छिन्, ‘यो समस्याको जड ‘एक्लोपन’ नै हो । मानिसहरूसँगको प्रत्यक्ष संवादले मानसिक स्थिरता प्रदान गर्छ । कार्यालयमा हुने सामान्य चियागफ वा छोटो कुराकानीले पनि तनाव कम गर्न ठूलो भूमिका खेल्छ, जुन रिमोट वर्कमा हराउँदै गएको छ ।’

यद्यपि रिमोट वर्कका आफ्नै फाइदाहरू पनि छन् । धेरै कर्मचारीहरू यात्राको समय बचत हुने र काममा लचकता हुने भएकाले यसलाई जारी राख्न चाहन्छन् । तर, यसलाई सुरक्षित र दिगो बनाउन अब नयाँ रणनीतिको आवश्यकता देखिएको छ ।

विज्ञहरूका अनुसार ‘हाइब्रिड वर्क’ (केही दिन कार्यालय र केही दिन घरबाट काम गर्ने) मोडल अहिलेको लागि सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ । यसका साथै, कम्पनीहरूले आफ्ना कर्मचारीहरूसँग नियमित भर्चुअल वा भौतिक संवाद गर्ने, स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने र कर्मचारीहरूको मानसिक अवस्था जाँच गर्ने संयन्त्र बनाउनु पर्ने सुझाव दिइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले पनि टेलिवर्कलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ । अबको चुनौती उत्पादकत्व मात्र होइन, प्रविधिको प्रयोग गर्दै कर्मचारीहरूको ‘मन’लाई पनि कार्यालयसँग जोडिइराख्नु हो ।

तपाईको प्रतिक्रिया