समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने राजनीतिक भ्रमण पूरा गरेर श्रीलंकाबाट आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए।
श्रीलंका भ्रमणका क्रममा प्रचण्डले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए। त्यसक्रममा उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। साथै, सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा र पार्टीका पोलिटब्युरो सदस्यहरूसँग पनि छलफल गरेका थिए।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशका राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वसँग समेत भेटघाट गरेका थिए। उनी जुलाई १५ मा श्रीलंका प्रस्थान गरेका थिए।








