टोकियो – साविक विजेता अर्जेन्टिनाको विजय यात्रालाई पूर्णविराम लगाउँदै स्पेन फिफा विश्वकप-२०२६ को नयाँ विश्व च्याम्पियन बनेको छ । अमेरिकाको न्यु जर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि फुटबलको सर्वोच्च उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक अग्रता दिलाए । टोरेसको सोही गोल नै स्पेनलाई दोस्रो पटक विश्वविजेता बनाउन निर्णायक सावित भयो ।
खेलको निर्धारित समयको अन्तिम क्षणमा अर्जेन्टिनालाई ठूलो झट्का लागेको थियो । मध्यपंक्तिका प्रभावशाली खेलाडी एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीको साथमा अतिरिक्त समय खेल्न बाध्य अर्जेन्टिनाले स्पेनको दबाबलाई रोक्न सकेन र उपाधि रक्षा गर्ने अवसर गुमायो ।
सन् २०१० मा पहिलो पटक विश्वकप जितेको स्पेनका लागि यो १६ वर्षपछिको अर्को स्वर्णिम सफलता हो । पछिल्ला केही विश्वकपमा अन्तिम १६ र समूह चरणबाटै बाहिरिएको स्पेनले यसपटक भने उत्कृष्ट फुटबल खेल्दै विश्वको ध्यान खिच्न सफल भयो । युवा र अनुभवी खेलाडीहरूको सन्तुलनले स्पेनलाई पुनः विश्व फुटबलको शिखरमा पुर्याएको छ ।
ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए । तर उनले फाइनलमा कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे । यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो ।
२०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।








