टोकियो – जापानको प्रमुख रेल सेवा प्रदायक ‘इस्ट जापान रेलवे कम्पनी’ले सिन्कानसेन (बुलेट ट्रेन) मार्गहरूको सुरक्षा र मर्मत सम्भारको सुक्ष्म निरीक्षण गर्न प्रयोग गरिने आफ्नो अत्याधुनिक नयाँ रेलको डिजाइन सार्वजनिक गरेको छ । ‘ई-९२७’ मोडलको यो रेललाई ‘सोअर’ उपनाम दिइएको छ ।
सन् २०२९ को आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने लक्ष्य राखिएको यो सात-डिब्बे रेलले हाल सञ्चालनमा रहेको ६-डिब्बे ‘इस्ट-आई’ निरीक्षण रेललाई प्रतिस्थापन गर्नेछ । ‘सोअर’ को सबैभन्दा ठूलो विशेषता यसको गति हो। यो रेल ३२० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्न सक्छ, जुन जापानका अन्य नियमित यात्रुवाहक बुलेट ट्रेनको गतिसरह हो ।
हालको निरीक्षण रेल २७५ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चल्न सक्छ । तीव्र गतिमा दौडिरहेकै बेला यसले रेलको लिक र माथि रहेका विद्युतीय लाइनहरूको सुक्ष्म जाँच गर्न सक्छ ।
यस रेलमा ४८ वटा उच्च क्षमताका क्यामराहरू जडान गरिएका छन्। साथै, यसमा पहिलोपटक यस्तो अत्याधुनिक यन्त्र राखिएको छ जसले पाङ्ग्रा र लिकबीचको चाप मापन गर्छ । यस प्रविधिले लिकमा आएको खराबी वा विक्षेपणलाई तत्कालै पहिचान गरी कुन ठाउँमा पहिले मर्मत गर्नुपर्ने हो भन्ने कुराको जानकारी दिनेछ ।
‘सोअर’ को प्रयोग मुख्यतया तोहोकु, जोएत्सु र होकुरिकु सिन्कानसेन लाइनहरूमा गरिनेछ । यसका साथै आकिता र यामागाता सिन्कानसेनका ती खण्डहरूमा पनि यसलाई गुडाइनेछ जहाँ बुलेट ट्रेन र स्थानीय रेलहरू एउटै लिकमा चल्छन् ।
यो रेलको बाहिरी बनावट सेतो रङ्गको छ, जसमा रातो र हरियो रङ्गका असन्तुलित आकर्षक धर्साहरू प्रयोग गरिएका छन् । जेआर इस्टका अनुसार भविष्यमा यस रेलमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि थप गरिनेछ, जसले लिक र विद्युतीय लाइनको अवस्थालाई मानिसको सहयोग विना नै स्वतः विश्लेषण र निर्णय गर्न सक्नेछ ।
जापानको रेल सेवा आफ्नो सुरक्षा र सटिक समयका लागि विश्वभर चर्चित छ । ‘सोअर’ जस्ता अत्याधुनिक रेलहरूको आगमनले यो साखलाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।








