Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा गत वर्ष भालुको आक्रमणबाट कीर्तिमानी सङ्ख्यामा मानवीय क्षति भएपछि अहिले एउटा अनौठो र डरलाग्दो देखिने ‘रोबोट ब्वाँसो को माग ह्वात्तै बढेको छ । जङ्गली भालुलाई मानव बस्ती र फार्मबाट टाढा राख्न प्रभावकारी देखिएको यस मेसिनको अर्डर यति धेरै आएको छ कि उत्पादक कम्पनीलाई माग धान्न मुस्किल परेको छ ।

‘मन्स्टर वुल्फ’ नाम दिइएको यो यन्त्र एक प्रकारको आधुनिक ‘तर्साउने पुतला’ हो। यसका आँखा रातो रङमा चम्किन्छन् र यसले भालुलाई भगाउन निकै डरलाग्दो गरी भुक्ने र गर्जने आवाज निकाल्छ । हक्काइडोस्थित ‘ओता सेइकी’ कम्पनीका अध्यक्ष युजी ओताका अनुसार यस वर्षको सुरुवातमै ५० भन्दा बढी अर्डर आइसकेका छन्, जुन सामान्यतया वर्षभरिमा आउने अर्डरभन्दा बढी हो । ‘हामी यी रोबोटहरू हातैले बनाउँछौँ, त्यसैले माग अनुसार तीव्र गतिमा उत्पादन गर्न सकिरहेका छैनौँ,’ ओताले भने, “हामीले ग्राहकहरूलाई दुई देखि तीन महिनासम्म कुर्न आग्रह गरिरहेका छौँ ।’

विशेषगरी किसान, गल्फ कोर्स सञ्चालक र ग्रामीण भेगमा सडक तथा निर्माण कार्यमा खटिने कामदारहरूले आफ्नो सुरक्षाका लागि यो रोबोट खरिद गरिरहेका छन् ।

आधिकारिक तथ्याङ्क अनुसार सन् २०२५–२०२६ को अवधिमा जापानभर भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो । सोही अवधिमा देशभर ५० हजारभन्दा बढी पटक भालु देखिएका उजुरी दर्ता भएका छन् । भालुहरू खानेकुराको खोजीमा घरभित्र पस्ने, विद्यालय नजिकै घुम्ने र सुपरमार्केट तथा तातोपानीका कुण्डहरूमा वितण्डा मच्चाउने कार्य दैनिकजसो हुन थालेपछि स्थानीय बासिन्दा त्रसित छन् ।

यो रोबोटमा पाइपको फ्रेममाथि कृत्रिम भुत्लाहरू हालिएको छ र यसको मुख डरलाग्दो गरी खुला राखिएको छ । यसको मूल्य ४,००० अमेरिकी डलरबाट सुरु हुन्छ । यसमा निम्न सुविधाहरू छन्:-

  • आवाज: यसले मानव स्वर र इलेक्ट्रोनिक ध्वनिसहित ५० भन्दा बढी प्रकारका आवाजहरू निकाल्न सक्छ, जुन १ किलोमिटर टाढासम्म सुनिन्छ ।
  • लाइट र सेन्सर: यसका आँखामा रातो ‘एलईडी’ र पुच्छरमा नीलो लाइट जडान गरिएको छ । यसमा जडान गरिएको सेन्सरले जङ्गली जनावर नजिक आउनासाथ सक्रिय बनाउँछ ।
  • शक्ति: यो ब्याट्री र सौर्य ऊर्जाबाट चल्छ ।

सन् २०१६ मा पहिलोपटक कृषि उत्पादन जोगाउन बनाइएको यो यन्त्रलाई सुरुमा कतिपयले ‘ठट्टा’ को रूपमा लिएका थिए। तर भालुविरुद्ध यो निकै प्रभावकारी साबित भएपछि अहिले कम्पनीले यसलाई थप परिष्कृत बनाउँदैछ । अब यसलाई चक्कामा गुडाएर गस्ती गराउने, पदयात्री र स्कुले बालबालिकाका लागि हातमा बोक्न मिल्ने सानो संस्करण बनाउने र आर्टिफिसियल इन्टेलिजेन्स क्यामेरा जडान गर्ने योजना रहेको अध्यक्ष ओताले बताए । ‘हामी आफ्नो प्रविधिमार्फत भालुको समस्या समाधानमा सानो भए पनि योगदान दिन चाहन्छौँ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया