टोकियो – जापानमा कार्यरत विदेशी नागरिकहरूले अस्पताल जाँदा भोग्नुपर्ने भाषाई समस्यालाई समाधान गर्न एउटा नयाँ ‘अनुवाद एप’ सञ्चालनमा ल्याइएको छ । यो एपको मद्दतले अब विदेशी कामदारहरूले अस्पतालमा भर्नुपर्ने चिकित्सा प्रश्नावली आफ्नै मातृभाषामा भर्न सक्नेछन् ।
टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालक, हवाई ग्राउन्ड ह्यान्डलिङ कम्पनी र विदेशीहरूलाई एप सेवा प्रदान गर्ने एक प्रविधि कम्पनीको संयुक्त पहलमा यो परियोजना सुरु गरिएको हो । पछिल्लो समय चिवा प्रान्तको नारिता सहर र विमानस्थल क्षेत्रमा विदेशी कामदारहरूको माग र सङ्ख्या बढ्दै गएकाले उनीहरूको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै यो एप विकास गरिएको हो ।
कसरी काम गर्छ एपले ?
गत अप्रिलमा नारिताको एउटा अस्पतालमा म्यानमारका एक ग्राउन्ड ह्यान्डलिङ कामदार र भियतनामका एक निर्माण मजदुरले यस एपको सफल परीक्षण गरेका थिए । प्रक्रिया अनुसार, बिरामीले आफ्नो स्मार्टफोनबाट अस्पतालमा रहेको क्युआर कोड स्क्यान गर्छन् ।
त्यसपछि उनीहरूको मोबाइलमा आफ्नै भाषामा चिकित्सा फारम खुल्छ । त्यहाँ उनीहरूले आफ्नो स्वास्थ्य अवस्था, औषधि सेवन, बिमाको विवरण र कुन विभागमा जाँच गराउन चाहेको हो भन्ने जस्ता प्रश्नहरूको उत्तर आफ्नै भाषामा दिन्छन् । एपले ती सबै उत्तरहरूलाई तुरुन्तै जापानी भाषामा अनुवाद गरिदिन्छ, जसका आधारमा चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गर्दछन् ।
परीक्षणमा सहभागी म्यानमारका कामदारले अस्पताल जाँदा सधैँ भाषाकै चिन्ता लाग्ने गरेकोमा यो एपको प्रयोगले ढुक्क बनाएको बताए । ‘आफ्नै भाषामा समस्या बुझाउन पाउँदा निकै सजिलो हुँदो रहेछ,’ उनले भने ।
‘जेएएल ग्राउन्ड सर्भिस’का मिजुनो ताकासीले यो एपले विदेशी कामदार राख्ने कम्पनीहरूको कार्यबोझ समेत घटाउने बताए । ‘विदेशी कर्मचारीहरू अस्पताल जाँदा कम्पनीका अन्य कर्मचारीले अनुवादकका रूपमा सँगै जानुपर्ने बाध्यता यसले हटाउँछ,’ उनले भने ।
उनले विदेशी कामदारहरूलाई जापानमा लामो समयसम्म काम गर्न र बस्न प्रोत्साहित गर्न यस्ता दैनिक जीवनसँग जोडिएका सेवाहरू महत्वपूर्ण हुने उल्लेख गरे । जापानले पछिल्लो समय श्रम शक्तिको अभाव टार्न विदेशी कामदारहरूलाई भित्र्याइरहेको सन्दर्भमा, यो प्रविधि उनीहरूको सामाजिक सुरक्षा र स्वास्थ्यका लागि एउटा ठूलो फड्को मानिएको छ ।








