Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

हनोई – चीनसँगको बढ्दो कूटनीतिक तिक्तता र मध्यपूर्वको ऊर्जा संकटका बीच जापानले दक्षिण-पूर्वी एसियाली राष्ट्र भियतनामसँगको आर्थिक तथा सुरक्षा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने भएको छ । प्रधानमन्त्री सानाए ताकाइचीको जारी भियतनाम भ्रमणका क्रममा शनिबार दुई देशबीच ‘आर्थिक सुरक्षा’ सुदृढ गर्ने ऐतिहासिक सहमति हुने भएको हो ।

प्रधानमन्त्री ताकाइची र भियतनामी समकक्षी ले मिन्ह हुङबीच हुने शिखर वार्तामा ऊर्जा, कृत्रिम बौद्धिकता र महत्वपूर्ण खनिजहरूको आपूर्ति सञ्जाल मा सहकार्य गर्ने सम्बन्धी साझा दस्तावेज जारी गरिने अधिकारीहरूले जनाएका छन् ।

प्राकृतिक स्रोतको अभाव रहेको जापानले पछिल्लो समय इरान युद्धका कारण ‘हर्मुज जलडमरू’ बन्द हुँदा भोग्नुपरेको ऊर्जा संकट र चीनले ‘रेयर अर्थ’ (दुर्लभ धातु) को निर्यातमा लगाएको नियन्त्रणपछि वैकल्पिक मार्गको खोजी गरिरहेको छ । दक्षिण-पूर्वी एसियामा चीनको बढ्दो आर्थिक प्रभावलाई सन्तुलनमा राख्न जापानले भियतनामलाई एक भरपर्दो साझेदारको रूपमा हेरेको छ ।

भ्रमणका क्रममा ताकाइचीले हनोईस्थित एक विश्वविद्यालयमा ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ नीतिका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व प्रधानमन्त्री सिन्जो आवेले १० वर्षअघि सुरु गरेको यस अवधारणालाई ताकाइचीले परिमार्जित स्वरूपमा प्रस्तुत गर्दै आर्थिक सुरक्षा र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा जोड दिनेछिन् ।

सुरक्षाका दृष्टिले पनि यो भ्रमण महत्वपूर्ण मानिएको छ। दक्षिण चीन सागरमा चीनको बढ्दो सैन्य सक्रियतालाई लिएर जापान र भियतनाम दुवै चिन्तित छन् । सन् २०२३ मा सुरु गरिएको जापानको ‘ओफिसियल सेक्युरिटी असिस्टेन्स’ फ्रेमवर्कमा भियतनामलाई पनि समावेश गर्ने जापानको योजना छ, जसअन्तर्गत जापानले भियतनामलाई रक्षा उपकरणहरू उपलब्ध गराउन सक्नेछ ।

शनिबार नै ताकाइचीले भियतनामी राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका प्रमुख तो लामसँग पनि भेटवार्ता गर्नेछिन् । भियतनामको नयाँ नेतृत्व चयन भएपछि ताकाइची र भियतनामी नेताहरूबीच यो पहिलो प्रत्यक्ष संवाद हो । प्रधानमन्त्री ताकाइची शुक्रबार भियतनाम पुगेकी हुन् । हनोईको भ्रमण सकेर उनी आइतबार अष्ट्रेलिया प्रस्थान गर्नेछिन्, जहाँ उनले सोमबार अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया