Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानमा पछिल्लो समय घट्दो जन्मदर र तीव्र रूपमा ओरालो लागिरहेको जनसंख्या सरकारका लागि टाउको दुखाइको विषय बनेको छ । यसै समस्यालाई सम्बोधन गर्न जापानका विभिन्न स्थानीय सरकारहरूले एउटा रोचक अभियान सुरु गरेका छन्- अविवाहित युवायुवतीलाई विवाहका लागि जोडी खोज्न सरकारले नै आर्थिक सहयोग (अनुदान) उपलब्ध गराउने ।

हालैका केही सञ्चारमाध्यमहरूले ‘टिन्डर’ चलाएबापत जापान सरकारले पैसा दिने दाबी गरे पनि यथार्थमा यो अलि बढी प्रशासनिक र व्यवस्थित छ । जापानको कोची प्रान्तले आफ्ना २० देखि ३९ वर्ष उमेर समूहका अविवाहित बासिन्दाहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो । कोची प्रशासनले सरकारद्वारा मान्यता प्राप्त ‘म्याचमेकिङ’ (विवाहका लागि जोडी खोज्ने) एप वा सेवाहरूमा दर्ता हुनेहरूलाई २० हजार येनसम्मको अनुदान दिने घोषणा गरेको छ ।

सरकारको यो लगानी केवल सामान्य डेटिङका लागि नभई दीर्घकालीन सम्बन्ध, विवाह र अन्ततः जन्मदर बढाउने उद्देश्यमा केन्द्रित छ । कोचीले ‘ट्याप्पल’ जस्ता सुरक्षित र व्यवस्थित प्लेटफर्महरूसँग साझेदारी गरेर युवाहरूलाई मर्यादित रूपमा जीवनसाथी खोज्न प्रोत्साहित गरिरहेको छ ।

कोची मात्र होइन, मियाजाकी र आइची जस्ता अन्य क्षेत्रहरूले पनि यस्तै खालका कार्यक्रमहरू ल्याएका छन् । आइची प्रान्तले त आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी व्यक्तिको स्वभाव र मूल्यमान्यताका आधारमा उपयुक्त जोडी मिलाइदिने ‘म्यारिज सपोर्ट सेन्टर’ नै स्थापना गर्ने तयारी गरेको छ ।

राजधानी टोकियोले त आफ्नै आधिकारिक ‘म्याचमेकिङ’ एप नै सार्वजनिक गरेको छ । तर, यसमा दर्ता हुन भने निकै कठिन छ । प्रयोगकर्ताले आफ्नो आम्दानीको आधिकारिक प्रमाण, आफू अविवाहित भएको कानुनी कागजात र व्यक्तिगत अन्तर्वार्तासमेत दिनुपर्ने प्रावधान राखिएको छ । सरकारले यसलाई डेटिङ एपभन्दा बढी ‘विवाहका लागि औपचारिक माध्यम’ का रूपमा विकसित गरेको छ ।

सिद्धान्ततः, सम्बन्धित क्षेत्रमा आधिकारिक रूपमा दर्ता भएका विदेशी बासिन्दाहरूले पनि यो सुविधाका लागि आवेदन दिन सक्छन् । यद्यपि, सबै प्रक्रियाहरू जापानी भाषामा हुने र सरकारी कागजी प्रक्रिया निकै झन्झटिलो हुने भएकाले विदेशीहरूका लागि यो केही चुनौतीपूर्ण हुनसक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया