-
एनआरएनएका लागि अबको बाटो विगतका गल्तीहरूबाट सिक्दै नयाँ इतिहास कोर्ने हुनुपर्छ ।
नेपालमा पछिल्लो समय विकसित ‘जेनजी’ सचेतना र आन्दोलनले राजनीतिक दलहरूको सत्तालिप्सा र सुशासनप्रतिको उदासीनतामाथि गम्भीर प्रश्न उठाएको छ । यो लहरको प्रभाव केवल मुलुकभित्र मात्र सीमित रहेन, यसले विदेशमा रहेका नेपालीहरूलाई पनि नयाँ ढङ्गले सोच्न बाध्य तुल्याएको छ ।
पछिल्ला वर्षहरूमा नेपालका राजनीतिक दलहरूको छायाँ विदेशस्थित नेपाली संघसंस्थाहरूमा पनि प्रष्ट देखिनु चिन्ताको विषय थियो । विशेष गरी, विश्वभरका नेपालीलाई जोड्ने साझा मञ्च ‘गैरआवासीय नेपाली संघ’ (एनआरएनए) आन्तरिक कलह र सत्ता स्वार्थका कारण दुई चिरामा विभाजित हुँदा यसको साख र गरिमामाथि नै प्रश्नचिह्न खडा भएको थियो । तर, सुखद पक्ष के भने, सर्वोच्च अदालतको मार्गदर्शन र समसामयिक दबाबका कारण यो संस्था पुनः एकताको मार्गमा फर्किएको छ । राजधानी काठमाडौंमा जारी १२औँ महाधिवेशनले एकताको नयाँ सन्देश प्रवाह गरेको छ ।
महेश श्रेष्ठ र बद्री केसी नेतृत्वका दुई अलग-अलग धारहरू एउटै मञ्चमा उभिनु सकारात्मक कदम हो । तथापि, यो एकता केवल पदीय भागबन्डा र तत्कालको विवाद साम्य पार्न गरिएको सम्झौता मात्र हुनु हुँदैन । एनआरएनएका प्रतिनिधिहरूले यो बुझ्न जरुरी छ कि अहिलेको एकता दीर्घकालीन र सैद्धान्तिक हुनुपर्छ । संस्थाका संस्थापकहरू उपेन्द्र महतो, जीवा लामिछाने र शेष घलेलगायतले जुन पवित्र परिकल्पनाका साथ यो अभियान सुरु गरेका थिए, त्यसको मूल मर्म ‘मातृभूमिका लागि सेवा’ नै थियो । तर, पछिल्लो समय संस्था केवल चुनाव जित्ने, गुटबन्दी गर्ने र राजनीतिक दलको भ्रातृ संस्था जस्तो बन्ने बाटोमा लाग्दा यसले आफ्नो उद्देश्य बिर्सिएको भान हुन्थ्यो ।
सरकारको सक्रियतामा एकताको वातावरण निर्माण हुनुपर्ने अवस्था आउनु आफैँमा एउटा विडम्बना हो । यो संस्थाको स्वायत्तता र गरिमालाई बचाई राख्न गैरआवासीय नेपालीहरू स्वयं नै जिम्मेवार हुनुपर्छ । हालैको आमनिर्वाचनमा नेपाली जनताले परम्परागत राजनीतिक शैली र पदलोलुप नेतृत्वलाई जुन प्रकारको सन्देश दिएका छन्, त्यसबाट एनआरएनएले पनि पाठ सिक्नु अनिवार्य छ । यदि नेतृत्वले आफूलाई नसच्याउने र केवल प्रतिष्ठाका लागि हानथाप गरिरहने हो भने, यो संस्थाको औचित्यमाथि सधैँ प्रश्न उठिरहनेछ । पदभन्दा माथि उठेर त्यागको नमुना प्रस्तुत नगरेसम्म एकताको जग मजबुत हुन सक्दैन ।
एनआरएनएका लागि अबको बाटो विगतका गल्तीहरूबाट सिक्दै नयाँ इतिहास कोर्ने हुनुपर्छ । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई केवल शब्दमा मात्र होइन, व्यवहारमा पनि उतार्ने चुनौती अहिलेको नेतृत्व सामु छ । विदेशमा सिकेको ज्ञान, सीप र आर्जन गरेको पुँजीलाई मातृभूमिको समृद्धिमा लगाउने वातावरण निर्माण गर्नु नै यो महाधिवेशनको मुख्य उपलब्धि हुनुपर्छ । राजनीतिभन्दा माथि उठेर विशुद्ध सेवाको भावनाका साथ अघि बढ्न सके मात्र एनआरएनएले आफ्नो गुमेको साख फिर्ता पाउन सक्छ । आशा गरौँ, काठमाडौंमा जारी यो महाधिवेशनले गफ होइन, कामका लागि एकजुट हुने र नेपालको हितमा समर्पित हुने नयाँ नेतृत्व र संकल्प प्रदान गर्नेछ । इमानदारी र समर्पण नै यो अभियानको सफलताको निर्विकल्प आधार हो ।








