Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

नेपालको राजनीतिक इतिहास समय समयका नयाँ मोडहरूबाट गुज्रिँदै आइरहेको छ । कहिले आन्दोलनको छालले राजतन्त्र बढारिन्छ त कहिले जनताको असन्तुष्टि र नेतृत्वको स्वेच्छाचारिताको परिणाम जेन्जी आन्दोलनले नेतृत्वको कुर्सी नै बढारिदिन्छ । पछिल्लो समय नेपाली राजनीतिमा देखिएको एउटा महत्त्वपूर्ण र मनोवैज्ञानिक परिवर्तन भनेकै पुरानो राजनीतिक संस्कारबाट थाकेका युवाहरू र नयाँहरूबाट देखिएको आशा पनि हो । जसलाई यसपालिको चुनावले प्रमाणित नै गरिदियो । केपी ओलीको दम्भले देशका चर्चित पुराना राजनीतिक दलहरूको अन्त्य नै गरिदियो या भनौँ ओली युगको हास्यास्पद अन्त्य भयो ।

पूर्वप्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा लामो समयदेखि प्रभावशाली पात्र थिए । उनको कार्यकालमा राष्ट्रियताका मुद्दा, चीन-भारत सन्तुलन र बलियो भाषण शैलीले ठूलो जनसमर्थन पनि प्राप्त गरेकै हो तर समयसँगै जनताको अपेक्षा र राजनीतिक व्यवहारबिचको दूरी बढ्दै गयो । विकासका ठूला ठूला घोषणा र सपनाहरू बाँडिए पनि व्यवहारमा सुशासन, पारदर्शिता र नागरिकको जीवनस्तर सुधारमा भने अपेक्षित परिणाम नआउँदा जनतामा निराशा बढ्दै गइरहेको थियो । परिणाम, ओलीको राजनीतिक प्रभाव अझै कायम भए तापनि पुरानो शैलीको राजनीतिप्रति समाजको धैर्य क्रमशः कमजोर बन्दै गइरहेको थियो ।

यही पृष्ठभूमिमा बालेन शाहको उदय केवल एक व्यक्तिको जित मात्र होइन, समाजको मानसिकता परिवर्तनको प्रतीक बनेर आयो । काठमाडौँ महानगरको चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा उनको विजय नै नेपाली राजनीतिमा एउटा ठूलो सन्देश थियो । अब नेपाली मतदाताले पार्टीको झन्डाभन्दा माथि उठेर काम र पारदर्शिता खोजिरहेका थिए । बालेनको जितले पुराना दलहरूको एकाधिकारलाई चुनौती मात्र दिएन, राजनीतिक संस्कृतिलाई पनि नयाँ बहसतर्फ धकेलेको थियो ।

नेपालको राजनीतिक इतिहासले पटक-पटक कोल्टे फेर्दै आएको छ । कहिले आन्दोलनको छालले राजतन्त्र बढारियो त कहिले जनताको असन्तुष्टिले व्यवस्था नै फेरियो । तर, पछिल्लो समय देखिएको परिवर्तन कुनै राजनीतिक दलको क्रान्ति होइन, बरु पुराना र थाकेका नेतृत्वप्रति नागरिकको मौन विद्रोह हो । केपी ओलीको युगको सुखद वा दुखद अन्त्यसँगै बालेन शाहको उदयले नेपाली राजनीतिमा एउटा नयाँ र मनोवैज्ञानिक क्रान्तिको बिगुल फुकेको छ ।

बालेनको चर्चाको मुख्य कारण उनको प्रशासनिक शैली नै अब्बल थियो । महानगरमा अनधिकृत संरचना हटाउने अभियान, सेवा प्रणालीलाई डिजिटल बनाउने प्रयास र नियम कार्यान्वयनमा देखिएको दृढता- यी सबैले जनतालाई एउटा फरक नेतृत्वको अनुभूति गरायो । जहाँ पुरानो राजनीतिमा धेरैजसो भाषण र सम्झौतामा सीमित देखिन्थ्यो तर बालेनको उदयपश्चात् उनको शैली एक्सन ओरिएन्टेड बन्दै गयो । नागरिकहरू बालेनको कर्मको फ्यान बन्न पुगे ।

बालेनको फ्यान हुनु या उनलाई रुचाउनु केवल व्यक्तिको प्रशंसा मात्र होइन । यससँगै नयाँ पुस्ताको राजनीतिक चेतनाको उदय पनि थियो । सामाजिक सञ्जालमा युवाहरू सक्रिय हुनु, विदेशमा बसेर पनि देशको राजनीतिमा चासो राख्ने जनलहर बढ्नु र भ्रष्टाचारप्रति शून्य सहनशीलता देखाउनुले युवा पुस्ताहरू पनि अब परिवर्तन चाहन्छन् भन्ने स्पष्ट सङ्केत थियो । उनीहरूलाई न त पुराना विचारधाराको झगडामा चासो थियो न त क्रान्तिका नाराहरूमा । उनीहरूलाई चाहिएको थियो व्यवस्थित शहर, पारदर्शी शासन र अवसरले भरिएको देश ।

यस सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न पनि उठ्छ, के साँच्चै ओली युग समाप्त भइसकेको हो ? राजनीतिक रूपमा हेर्दा पुराना नेताहरूको प्रभाव अझै समाप्त भएको छैन । राज्य संयन्त्रका विभिन्न संस्थाहरूमा भएको वर्गीय सङ्गठन, स्कुल-कलेजमा भएको राजनीतिक सङ्गठन र देशैभरिको ब्युरोक्रेसीमा पूरै रिफर्म नगरेसम्म पूर्ण रूपमा ढुक्क हुने स्थिति छैन ।

नेपालको इतिहासले देखाएको छ, हरेक परिवर्तन जनताको चेतनाबाट सुरु हुन्छ । २०४६ को आन्दोलन, २०६२/६३ को जनआन्दोलन र गणतन्त्र स्थापनाजस्ता घटनाहरूले यही प्रमाणित गरेका छन् । अहिले देखिएको नयाँ लहर र त्यसको परिणाम पनि सम्भवतः त्यही शृङ्खलाको अर्को अध्याय हो । यदि यो लहर संस्थागत रूपमा स्थापित हुन सकेन भने, यो केवल क्षणिक उत्साहमा सीमित रहने जोखिम पनि रहन्छ ।

जब सामाजिक सञ्जालमा राजनीतिक चेतनाको लहर चल्यो र खाडीदेखि टोकियोसम्म रहेका नेपाली युवाहरूले स्वदेशको फोहर सफा गर्ने अठोट गरे, तब वर्षौँदेखि जरा गाडेर बसेका राजनीतिक सिन्डिकेटहरू हल्लिन थाले । केपी ओलीको प्रभावशाली भाषणले पनि रोक्न नसकेको यो परिवर्तनको नाम नै ‘बालेन युग’ हो । यो केवल एउटा चुनावी जित मात्र होइन, नेपाली राजनीतिमा संस्कार परिवर्तनको एउटा ऐतिहासिक मोड हो ।

त्यसैले बालेन युगको सफलताको असली परीक्षा अब सुरु हुन्छ । सुशासन, कानुनको समान कार्यान्वयन र संस्थागत सुधारलाई निरन्तरता दिन सकेमा मात्र यो परिवर्तन दीर्घकालीन बन्न सक्छ । अन्यथा नेपाली राजनीति फेरि पनि पुरानै चक्रमा फर्किन सक्छ ।

अन्ततः आजको नेपाल एउटा ऐतिहासिक मोडमा उभिएको छ । एकातिर पुरानो राजनीतिक शैलीको छाया अझै बाँकी छ, अर्कोतिर नयाँ नेतृत्वप्रति जनताको आशा असाधारण रूपमा बढेको छ । यदि यो आशालाई सही दिशा दिन सकियो भने नेपालले केवल नेतृत्व परिवर्तन होइन, राजनीतिक संस्कारको आमूल परिवर्तन देख्न सक्छ । सायद यही कारणले धेरै नेपालीहरूलाई आज लाग्नुपर्छ- यो केवल एउटा चुनावी जित होइन, समयको सङ्केत हो, अब नेपाल नयाँ दिशामा प्रवेश गर्दै छ । एक युगमा एक समय एक पटक आउँछ । हाम्रा पुराना नेतृत्वहरूको वर्षौँको गलत कर्महरू र नेतृत्वप्रति नागरिकको वितृष्णा र आक्रोशको पुरस्कार स्वरूप ओली युगको अन्त्य भई बालेन युगको सुरुवात पनि हो । जय देश ।

  • मोहन खतिवडा -टोकियो, जापान 

तपाईको प्रतिक्रिया