Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

देशभर चुनावी लहर चलिरहेको समय छ । राजनीतिक दलहरू भोटका लागि जनताको घरदैलोमा पुगिरहेका छन् । देशमा राजनीतिक अस्थिरताका कारण जनता मत खसाल्न बाध्य भइरहेका छन् । तर कहिले देख्ने होला हामीले चाहेको जस्तो सुन्दर नेपाल । यो त हामीजस्ता सोझा जनताको सपनामात्रै हो । देशमा रहेका प्रमुख पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा, रास्वपासहित विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरी सबै चुनावी मैदानमा होमिएका छन् ।

राजनीति दलहरूले युवालाई प्राथमिकतामा राख्दा सामाजिकसँगै व्यवसायिक जीवनमा प्रसिद्धि कमाएका उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन प्रजातन्त्रको आधारभूत जग हो । यसमा जनप्रतिनिधि छानिन्छन् । निर्वाचनबाट जनताले प्रतिनिधि पठाउने लोकतान्त्रिक पद्धतिमा अहिले फागुन २१ को निर्वाचनका लागि देशभित्र नेताको दौडधुप चलिरहेको हो । निर्वाचन जनताको तथा जनहितमा लागू हुने लोकतन्त्रको मजबुत र असल अभ्यास हो । निर्वाचनमा आचारसंहिताका कुरा मुख्य हुन्छन् । निर्वाचन भनेको जनताको फैसला हो । राजनीति र निर्वाचन विधिको शासनमा उभिएका लोकतान्त्रिक नीति हुन् ।

हामी लोकतान्त्रिक राज्यका नागरिक हौं, लोकतान्त्रिक राज्यको मूल नीति नै राजनीति हो । राजनीतिक दल र उम्मेदवारबीच मधुर हार्दिकता र शालिनता हुनुपर्छ । दलका नेता–कार्यकर्ताबीच हार्दिकता भयो भने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र मितव्ययी तुल्याउन सकिन्छ । यसले देशमा लोकतान्त्रिक राजनीतिक संस्कारको विकास भएको देखाउँछ । यही नीतिको आधारमा अन्य नीतिका आधारहरू तय हुन्छन् । संसद् एउटा नीति नियम तय गर्ने सर्वोच्च संस्था हो । त्यसैले राजनीतिक नेताहरूले किल्लाका रूपमा राखेका आफ्ना क्षेत्रहरूमा विकास गर्ने संकल्प र प्रतिबद्धतालाई भुल्नु हुँदैन ।

प्रतिनिधिले प्रतिशोध र पूर्वाग्राही तरिकाले विभिन्न आक्षेप लगाई राजनीतिमा आफू तानिन खोज्नु किमार्थ राम्रो होइन । जिल्लाका प्रत्येक वडा र टोलमा कार्यकर्ताको उत्साह उपस्थितिबिना नेताहरूको कुनै मूल्य देखिँदैन । अझ कार्यकर्ताले नै नेतालाई उनीहरूको उम्मेदवारी क्षेत्रमा उभ्याउन जिताउन सघाइरहेका हुन्छन् । नेता जनताको भरोसा र कार्यकर्ताबिना आफ्नो मूल्य तौलन सक्दैनन् । अब नेताहरूको पछि लागेका कार्यकर्ताहरूले पनि जनतासमक्ष सही र विवेकपूर्ण ढंगले जनमत जनविचारलाई बुझ्न र बुझाउन सहयोग गर्नुपर्दछ । प्रचारप्रसारको सन्दर्भमा एक पार्टीले अर्को पार्टीलाई आक्षेप नलगाई, कुनै गालीगलौज बिनै प्रचारमा जुट्न सकिन्छ ।

यसपालिको चुनावमा फेसबुक, ट्विटर आदि सामाजिक सञ्जालको भूमिका आक्रामकसँगै अराजक पनि बनेको छ । दल र उम्मेदवारहरूले सञ्जाललाई भरपूर प्रयोग गरेर चुनावी प्रचार गरिरहेका छन् । कतिपयले प्रयोगमात्रै गरेका छैनन्, दुरुपयोग पनि गरिरहेका छन् । सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने र साइबर क्राइमजन्य व्यवहारहरू प्रशस्त देखिन्छन् । अब दलहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने आफ्ना कार्यकर्ताहरूलाई सभ्यरूपमा प्रस्तुत हुन सिकाउनै पर्छ । भाषण र प्रचार गर्ने क्रममा एकले अर्कोलाई होच्याउने, प्रतिशोध साँध्ने र पूर्वाग्रही तरिकाले बोल्ने काम गर्नुहुँदैन ।

कतिपय ठाउँमा जनप्रतिनिधि जनतालाई झुक्याएर, घुस दिएर अथवा धम्क्याएर कुनै पद वा पैसाको लोभमा जबरजस्ती तिनको मत मागिरहेका हुन्छन् । जुन समाजमा अति घृणाको विषय हो । यहाँनेर मतदाताको राजनीतिक चेतना तथा शिक्षाको स्तर बढाउनुपर्ने देखिन्छ । जनतामा आशाभन्दा निराशा अथवा जनप्रतिनिधिसँग वितृष्णा बढ्दो देखिन्छ । पहिले आफैले चुनेर पठाएका प्रतिनिधिले आफ्ना संकल्प तथा देखाएका सपनाहरू पूरा नगरी फेरि आफूलाई जिताउन घरदैलोमा पुगेको देख्दा भने उनीहरू आत्तिएका छन् । यस्तो अवस्थाबाट जनता आजित छन् । चुनावमा आफ्नो पोल्टोमा जित ल्याउन गाउँघर पुगेका जनप्रतिनिधि जित हासिल गरेपछि सहर छिर्छन्, गाउँका दुःख र आशाअपेक्षा बिर्सिदिन्छन् । जुन वास्तवमै तीतो सत्य र नमीठो यथार्थ हो । जनप्रतिनिधिले आफूलाई जिम्मेवार, जवाफदेहिताको भुइँबाट आफूलाई जनताले उठाएको भुल्नु राम्रो होइन ।

अब जनताले पनि आफैलाई प्रश्न गर्ने समय आएको छ । आर्थिक रूपान्तरण, सामाजिक रूपान्तरण तथा रोजगारीका विभिन्न अवसरको लोभमा उनीहरूलाई सजिलै फसाइरहेका छन् नेताले । त्यसैले जनताले लाभ लिन सक्ने आर्थिक अवसरको खोजी हुनुपर्दछ । जनप्रतिनिधिले जनतासामु पुगेर स्वयंले संवाद गरी विश्वास दिलाउने र मत माग्ने काम गर्नु नै लोकतन्त्रको असल अभ्यास हो । उम्मेदवारहरूले पनि जनतालाई मतदान गर्ने मेसिन सम्झिनु हुँदैन । उनीहरूलाई सुखद् भविष्यको ग्यारेन्टी गर्न सक्ने नेतृत्व चाहिएको छ । कमसल प्रतिनिधिलाई हराउनै पर्छ ।

समाजले राजनीतिमा लागेका देशका लागि केही गर्न सक्छु भन्ने अब्बल युवा छनोट गर्न सक्नु पर्दछ । जनताले चुनिरहेका जनप्रतिनिधिको पछाडि लागिरहेका कार्यकर्तासम्म नेताको अघि चुइँक्क बोल्न सक्दैनन् । अब उनीहरू बोल्नुपर्छ, सही नेतृत्वको पक्षमा उभिन सक्नुपर्छ, जान्नुपर्छ । उनीहरूलाई सल्लाह सुझाव दिनुपर्छ ।

राजनीतिलाई मागीखाने भाँडो बनाएर समाज र जनता भाड्नु गलत हो । जनतामा राजनीतिक चेतनाको स्तर केही माथि उठेको जस्तो पनि देखिन्छ । त्यसैले अब दल र पार्टीभन्दा माथि उठेर व्यक्तिसँगै देशले जित्ने योग्य उम्मेदवार चयन गर्नुपर्छ । सहरी क्षेत्रमा बढ्दो सामाजिक सञ्जालको प्रयोग भएको देखिए पनि ग्रामीणमा भने मतदाता उम्मेदवारलाई देख्न भेट्न उनीहरूकै घरआँगनमा पुग्नुपर्छ । सोझा जनताको अमूल्य मत लिएर जनप्रतिनिधिले आफूलाई सत्तामा ल्याउन अनेकौं सपना बेचिरहेका छन् । अब सोझा जनताको भावनामा खेलवाड नगरौं । 

नेताहरू गोजीमा देश बनाउने घोषणापत्र लिएर हिँडिरहेका छन् । चुनावी घोषणापत्र दलहरूको सिद्धान्त, उद्देश्य र योजना समेटिएको लिखित वाचा हो । त्यसैको आधारमा नागरिकहरूले आफ्ना मत दिन्छन् । दलहरूले मतदाता रिझाउनकै लागि पुरानै चुनावी घोषणापत्रमा विभिन्न सपना बुनेर आफूले उम्मेदवारी दिएको क्षेत्रमा निस्किएका छन् । जनता सामु ती कबुल गरेका संकल्पहरूलाई एउटा कागजको खोस्टो बनाई मतदातालाई झुक्याइरहेका हुन्छन् । उनीहरूको घोषणापत्र र भाषणमा गरिनेछ, छोडिनेछ, पुर्‍याइनेछ, बढाइनेछ यस्तै कैयौं शब्दले मतदातालाई भ्रममा पारिरहेका हुन्छन् । देश विप्रेषणमा आधारित छ, हामीसँग आर्थिक आधार र विभिन्न आर्थिक परिसूचक पर्याप्त बलिया पनि छैनन् । मुलुकको कहालीलाग्दो बेरोजगारी समस्या समाधान गर्न स्थानीय सरकारमार्फत नै सबै राजनीतिक दल आएका थिए ।

अब भन्नुहोस् प्रतिनिधिसभाको चुनावमा कुन दलका कस्ता कस्ता घोषणापत्र होलान् त । बेरोजगारी घटेर कहाँ पुग्ला ? जनताले परिवर्तनको अनुभूति गर्न पाउँलान् ? देशको बेरोजगारी हेर्न कहीं पुग्नुपर्दैन कति लाख युवाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् भन्ने हेरे पुग्छ । विगतका चुनावी घोषणापत्रहरू राजनीतिक दलहरूले नै हावादारी प्रमाणित गरिदिएका छन् । अब त्यस्तो नहोस् । यो भनेको आफ्नो घुँडामा आफै बन्चरो हानेसरह हो । अब त मतदाताले पनि जनप्रतिनिधिसँग जवाफ माग्ने हिम्मत गर्नुपर्छ । जनता आफै बोल्न सिकौं, तर्क गरौं, आफूलाई पनि मतदाता मात्रै होइन, समाजका लागि हामी पनि परिवर्तन चाहन्छौं भनेर सचेत नागरिकको परिचय दिन सिकौं । आफ्ना आवाज आफैं बुलन्द गर्न सिकौं । किनकि सचेत नागरिक हामी आफैं हौं । देशले जित्ने गरी आफ्नो उम्मेदवारलाई चुन्न र चिन्न सिकौं । 

सँधैको जस्तै आवधिक निर्वाचन नभएर यो पटक विशेष परिस्थितिमा हुन लागेको विशेष निर्वाचन भएकोले यो निर्वाचनको महत्व निकै उच्च छ । फेरिएको परिवेशमा दलहरु जनतामा परीक्षित हुने यसपटकको निर्वाचनबाट आउने परिणामले देश र जनताको भविष्यसंग सरोकार राख्ने भएकोले हरेक नागरिकले सचेततापूर्वक आफ्नो मतको सदुपयोग गर्नु आजको आवश्यकता हो । अन्य पेशागत क्षेत्रमा सफलता हासिल गरी ख्याती कमाएकाहरु पनि यसपटकको निर्वाचनमा होमिएका छन् । फरक क्षेत्रमा मिलेको सफलताबाट चिरपरिचित भएकै भरमा राजनीतिमा पनि सोही अपेक्षा गर्नु जनताले कति जायज ठान्ने हुन् त्यो पनि हेर्न बाँकी छ । जेन्जी विद्रोहको मुल मर्म र भावनालाई केन्द्रमा राखेर निर्वाचनमा मत खस्यो भने मात्र सहादत प्राप्त जेन्जी सहिदहरुको आत्माले शान्ति पाउने छ । त्यसकारण दलहरु र तिनका उम्मेदवारहरु यतिबेला सबैभन्दा बढि जिम्मेवार र जबाफदेही हुनु आवश्यक छ । उरेन्ठेउला भाषणबाजी र हावादारी गफ छाँटेर अहिलेका सचेत जनताको मन र मत जित्न अब सजिलो छैन ।

तपाईको प्रतिक्रिया