Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानका ९० प्रतिशतभन्दा बढी क्यान्सर विशेषज्ञहरूले सार्वजनिक स्वास्थ्य बीमाले नसमेट्ने ‘गैर-मानक’ क्यान्सर उपचारको वैज्ञानिक प्रभावकारितामा गम्भीर आशंका व्यक्त गरेका छन् । ‘नेशनल क्यान्सर सेन्टर जापान’ अन्तर्गतको अनुसन्धान टोलीले हालै गरेको एक सर्वेक्षणमा यो तथ्य बाहिर आएको हो ।

सर्वेक्षणमा सहभागी क्यान्सर विशेषज्ञहरूले एनके र एनकेटी सेल थेरापी, डेन्ड्रिटिक सेल थेरापी, क्यान्सर भ्याक्सिन र एक्जोसोम थेरापी जस्ता उपचार पद्धतिहरू वैज्ञानिक रूपमा प्रमाणित नभएको बताएका छन् । यी पद्धतिमा बिरामीको रगतबाट कोषिका निकालेर त्यसलाई ‘एक्टिभेट’ गरी पुनः शरीरमा पठाउनेरिन्छ । यस्ता उपचारले क्यान्सर निको पार्ने दाबी गरिए पनि ९४.९ प्रतिशत डाक्टरहरूले यसको वैज्ञानिक आधारलाई अस्वीकार गरेका छन् ।

सर्वेक्षणमा सहभागी अधिकांश डाक्टरहरूले यदि आफूलाई क्यान्सर भएमा यस्ता महँगा र गैर-मानक उपचार विधि नअपनाउने बताएका छन् । अनुसन्धान टोलीका अनुसार, डाक्टरहरूले यस्ता उपचारका बारेमा बिरामीलाई तटस्थ भएर जानकारी दिँदा बिरामीमा ‘मिथ्या आशा’ पलाउन सक्छ । त्यसैले डाक्टरहरूले वैज्ञानिक रूपमा प्रमाणित नभएका उपचारका बारेमा स्पष्ट र कडा धारणा राख्नुपर्ने सुझाव दिइएको छ ।

सर्वेक्षणले निजी क्लिनिकहरूले दिने यस्ता उपचारमा गम्भीर लापरबाही हुने गरेको समेत देखाएको छ । ९० प्रतिशतभन्दा बढी विशेषज्ञका अनुसार यस्ता क्लिनिकहरूमा क्यान्सर उपचारको पर्याप्त अनुभव हुँदैन र उनीहरूले उपचारपछिको हेरचाहमा समेत ध्यान दिँदैनन् ।

केही डाक्टरहरूले यस्ता क्लिनिकहरूले बिरामीको संवेदनशीलताको फाइदा उठाई ‘ठगी’ गरिरहेको टिप्पणी गरेका छन् । ‘बिरामीहरू उपचारका नाममा ऋणमा डुब्ने र अन्त्यमा स्वास्थ्य थप बिग्रिएपछि पुनः सरकारी अस्पतालमै फर्किने गरेका छन्,’ एक चिकित्सकले सर्वेक्षणमा उल्लेख गरेका छन् । यस्ता क्लिनिकहरूको गैर-जिम्मेवारीपनले गर्दा नियमित अस्पतालका डाक्टरहरूमाथि कार्यभार समेत थपिने गरेको छ ।

 

तपाईको प्रतिक्रिया