नेपालको राजनीति अहिले निर्णायक मोडमा उभिएको छ । जनतामा निराशा छ, त्यही निराशासँगै एउटा नयाँ आशाको दियो बल्ने सङ्केत देखिँदै छ नेपाली समाजमा । लामो समयदेखि सत्ताका वरिपरि घुमिरहने पुराना अनुहारहरूको उही भाषण, उही बहाना र उही असफलताले जनतालाई थकित बनाइसकेको छ । त्यसैले त्यही थकान र असह्य नागरिक आक्रोश विकल्प बनेर यसपालि मतपेटिकामा खस्ने अनुमान गर्न सकिन्छ ।
यसपटकको चुनाव केवल दलहरूबीचको प्रतिस्पर्धा मात्रै होइन, देशमा चलिरहेको अस्थिरता र कुसंस्कृतिबीचको टक्कर पनि हो । एकातिर पुरानो सत्ता संस्कृति, नातावाद, पूँजीवाद, ठेक्का र कमिसनको राजनीति छ भने अर्कोतिर जवाफदेहिता, पारदर्शिता र परिणाममुखी सोच । जसले आजका युवाहरूको नयाँ सोच र आवश्यकतालाई आत्मसात् गर्छ, उसैले चुनाव जित्ने सम्भावना प्रबल बनेर आएको छ ।
विशेष गरी सहर केन्द्रित मतदाताहरूमा परिवर्तनको उग्र चाहना रहेको कुरा अझ स्पष्ट देखिन्छ । काठमाडौँ, पोखरा, धरान र भरतपुरजस्ता ठूला सहरहरूमा मतदाताले अब ठूला नामभन्दा पनि ठोस काम गर्न सक्नेहरूलाई खोज्न थालेका छन् । मेयर, उपमेयर वा सांसद जोसुकै किन नहोस्, चुनाव नजिकिँदै जाँदा काम गरेर देखाउनेले जित्ने आधार बलियो बन्दै गइरहेको छ ।
नेपालको राजनीति अहिले एउटा ऐतिहासिक दोसाँधमा उभिएको छ । एकातिर दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेका पुराना अनुहारहरूको असफलता छ भने अर्कोतिर परिवर्तनको भोक बोकेका सचेत नागरिकहरूको आक्रोश । यो चुनाव केवल प्रतिनिधि छान्ने माध्यम मात्र नभएर वर्षौँदेखिको कुसंस्कृति र बेथिति विरुद्धको ‘ब्यालेट विद्रोह’ हुने सङ्केत देखिएको छ ।
परम्परागत ठूला भनिने दलहरूलाई भने यसपालिको चुनावमा सबैभन्दा ठूलो जोखिम देखिएको छ । उनीहरूका लागि नागरिकहरूले दिँदै आएका ‘छुटका कुपन’हरू यसपालिदेखि सकिने निश्चितप्राय: देखिन्छ । विगतमा आफूले गरेको योगदानको नाम भजाएर भविष्यको मत सुरक्षित रहँदैन भन्ने यथार्थ अब उनीहरूले भोग्न थालिसकेका छन् । गुटबन्दी, सत्ता लोभ र आन्तरिक कलहले उनीहरू आफैँले आफैँलाई कमजोर बनाउँदै लगिरहेका छन् ।
अब देशमा सक्षम युवाहरू निर्णायक शक्ति बन्दैछन् । वैदेशिक रोजगारी, बेरोजगारी, शिक्षा र अवसरको प्रश्न युवाहरूको एजेन्डा बनेको छ । जसले यी मुद्दाहरूलाई इमानदारीपूर्वक सम्बोधन गर्छ, उसैले युवाहरूको मत जित्न सक्छ । यही परिदृश्य सडकमा देखिँदै छ । वर्तमान युवाहरूको मत भनेकै परिवर्तनको मत हो । यो मतले पुरानो राजनीतिक शैलीहरूलाई बढार्ने क्षमता राख्ने स्पष्ट देखिन्छ ।
वैकल्पिक र नयाँ राजनीतिक शक्तिहरूका लागि यो समय अवसर र चुनौती दुवै हो । अवसर यस अर्थमा छ कि जनता नयाँलाई मौका दिन तयार छन् । चुनौती यस अर्थमा कि केवल पुरानाहरूको आलोचना गरेर होइन, व्यावहारिक समाधान र नेतृत्व क्षमता देखाउनुपर्नेछ । केही समय त भावनाले जितिन्छ होला, तर यसलाई टिकाइराख्न नयाँहरूले पनि आफ्नो सत्कर्मबाट प्रमाणित गर्नुपर्ने हुन्छ- हामी पुरानाभन्दा यसकारण बेग्लै हौँ भनेर ।
गाउँघरमा परिवर्तनको गति केही ढिलो देखिए पनि नागरिकहरूको चेतना बढ्दै गइरहेको छ । मोबाइल, सामाजिक सञ्जाल र वैदेशिक अनुभवले गाउँका मतदातालाई पनि प्रश्न सोध्न सिकाएको छ- ‘आजसम्म हामीले के पायौँ ?’ अब जाति, नारा र डरले मात्र चुनाव जित्ने दिन समाप्त हुँदैछन् । नागरिकको राजनीतिक चेतना जागिसकेको छ ।
निराशाको बाक्लो कुहिरोभित्र नेपाली समाजले अहिले एउटा नयाँ बिहानीको खोजी गरिरहेको छ । वर्षौँसम्म भाषण र आश्वासनको भरमा जनतालाई झुक्याउने राजनीतिक प्रवृत्ति अब ‘एक्सपायरी डेट’ नजिक पुगेको छ । युवाहरूको एजेन्डा र मतदाताको विवेकले अब व्यक्तिको मात्र होइन, देशको राजनीतिक भविष्यको नयाँ फैसला गर्ने समय आएको छ ।
यसपटक चुनाव हार्नेहरू पनि तिनै हुनेछन्, जसले जनतालाई हल्का रूपमा सोचिरहेका छन् र जो अझै पनि पैसा, पहुँच र शक्ति देखाएर मत किन्न सकिन्छ भन्ने भ्रममा निदाइरहेका छन् । जनताको पीडा नसुन्ने, आलोचना सहन नसक्ने र आफूलाई यो देशको मियो ठान्ने प्रवृत्ति नै पराजयको मुख्य कारण बन्न सक्छ । यसपालि देशको सदियौँदेखिको राजनीतिक संस्कारले नयाँ अवतार फेर्ने निश्चित देखिन्छ ।
जित्नेहरू तिनै हुनेछन् जो सुन्न जान्दछन्, स्वीकार गर्न जान्दछन् र सुधार गर्न डराउँदैनन् । गल्ती स्वीकार गर्ने र सुधार्दै लाने राजनीतिक दल र तिनका नेता आजको सन्दर्भमा कमजोर होइन, शक्तिशाली हुन्छन् । परिणाममुखी काम, स्पष्ट दृष्टिकोण र इमानदार प्रयास नै यसपालि चुनावी विजयको सूत्र बन्दैछ ।
अन्ततः देशमा चुनाव जित्ने तिनै हुनेछन् जसले जनताको विश्वास जित्न सक्छन् र हार्ने तथा बढारिने पनि तिनै हुनेछन् जसले जनताको विश्वास र भरोसा गुमाएका छन् । यसपालि चुनाव व्यक्तिको होइन, प्रवृत्तिको फैसला हुनेछ । यदि जनताले सचेत निर्णय गरे र विवेक पुर्याए भने यो चुनावको परिणाम केवल सरकार परिवर्तन मात्र होइन, देशको दिशा परिवर्तन हुने चुनाव बन्न सक्छ ।
- मोहन खतिवडा /जापान, टोकियो








