काठमाडौँ – लन्डनबाट क्वालालम्पुरतर्फको उडानका क्रममा मलेसिया एअरलाइन्सको एक विमान अनियन्त्रित हुँदा केही यात्रु घाइते भएका छन् । 
उडानकै क्रममा प्रतिकुल मौसमका कारण विमानले नियन्त्रण गुमाएको र यस क्रममा ३४ जना सामान्य घाइते भएको मलेसिया एअरलाइन्सले जनाएको छ । ३ सय ७८ यात्रु र चालक दलका सदस्य सवार ‘ए ३८०’ एअरबस आइतबार बंगालको खाडी माथि आइपुग्दा प्रतिकुल मौसमका कारण अनियन्त्रित भएको हो । विमानमा हलचल भएपछि उछिट्टिएर ३४ जना यात्री घाइते भएको जनाइएको छ । विमान उडिरहेको समयमा हलचल भएपछि सामानहरू यत्र तत्र छरिएका थिए भने यात्रीसमेत लड्न पुगेका थिए ।
सोही क्रममा यात्री घाइते भएको जनाइएको छ । विमानस्थलमै आपत्कालीन अवस्थामा चिकित्सकसहितको उद्धार टोली तैनाथ गरिएको थियो, जसले यात्रीहरुलाई विमानबाट सुरक्षित निकाल्नुका साथै घाइतेको उपचार गरेको थियो ।
एअरलाइन्सले मौसमका कारण विमानले सन्तुलन गुमाएको उल्लेख गर्दै यात्रुमा परेको असुविधाप्रति क्षमा मागेको छ । –एजेन्सी








