काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीको निर्माणमा बनेको पहिलो चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ। क्राइम थ्रिलर र पारिवारिक कथामा आधारित टिजरले आमा र छोरीबीचको गहिरो सम्बन्ध तथा छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। टिजरले आफ्नी सन्तान जोगाउन आमा कति टाढासम्म जान सक्छिन् भन्ने कथाको संकेत गर्छ।
चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ। आयंका फिल्मसको ब्यानरमा बनेको फिल्मको निर्देशन सुवेन्दु घोषले गरेका हुन्।
प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार हुन्। फिल्मको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा पनि यी दुईले सहकार्य गरेका छन्।
युवराज इन्दोरियाको छायांकन र राजा सिंह सिदुको सम्पादन रहेको ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा रोहित शाक्यको संगीत, त्रिशाला गुरुङको स्वर रहेको छ भने नेपालमा यसको वितरण आरआर फिल्मसले गर्नेछ।








