समाचार सुन्नुहोस :
काठमाडौँ – देशकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षसहितका उच्च अधिकारीहरूको उपस्थितिमा बिहान १०:२५ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ।
उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा आवागमनको शुभारम्भ गर्नेछन्। पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। त्यसपछि केही दिन परीक्षण सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्याङ्कनपछि सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने जनाइएको छ।
परीक्षण अवधिमा सुरुङमार्ग प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन। नियमित सञ्चालनपछि भने कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि ८० देखि ११५ रुपैयाँ तथा ठूला बस र ट्रकका लागि २०० देखि २६० रुपैयाँसम्म शुल्क तोकिएको सडक विभागले जनाएको छ।
कुल २ हजार ६८८ मिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको घुमाउरो सडकमा हुने जाम कम हुने र यात्रुको समयसमेत बचत हुने अपेक्षा गरिएको छ।








