Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।

फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको आगो बोरदो शहरतर्फ बढिरहेको छ। बोरदो आसपासका सात शहरका बासिन्दालाई रातारात स्थानान्तरण गरिएको छ। गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब दुई लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। डढेलो नियन्त्रणका लागि सेना परिचालन गर्नुका साथै विभिन्न युरोपेली देशबाट विमान, हेलिकोप्टर र उद्धार टोली पठाइएको छ। डढेलोकै कारण आइतबार हुने टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण पनि छोट्याइएको छ। यसबीच राष्ट्रपति इमानुएल म्याक्रोँले देशभर फैलिएका करिब ३० वटा डढेलोबारे आपतकालीन बैठक बोलाएका छन्।

स्पेनमा पनि डढेलोका कारण आपत्काल घोषणा गरिएको छ। म्याड्रिड र अभिला क्षेत्रमा मात्रै करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी घरभित्रै बस्न बाध्य छन्। भ्यालेन्सिया क्षेत्रमा डढेलोमा एक ७० वर्षीय पुरुषको मृत्यु भएको छ।

यस वर्ष स्पेनमा हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ भने फ्रान्समा पनि ९८ हजार हेक्टरभन्दा बढी क्षेत्र डढेलोले नष्ट गरिसकेको छ। इटालीको सिसिली र स्कटल्यान्डको केर्नगर्म्स राष्ट्रिय निकुञ्जमा पनि डढेलो फैलिएको छ। युरोपेली संघले यस वर्ष डढेलोबाट हुने क्षति विगतका सबै रेकर्डभन्दा बढी हुन सक्ने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया