काबुल (अफगानिस्तान) – अफगानिस्तानमा सरकारी सुरक्षाफौज र विद्रोहीबीच विभिन्न ठाउँमा भएको झडपमा ९६ जना लडाकूको मृत्यु भएको र ९३ जना घाइते भएको अफगानी रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
अफगानी राष्ट्रिय सुरक्षा तथा रक्षा बलले नानगारहर, गाजनी, खोस्ट, कान्दाहार, जाबुल, बादगिस, निमरोज, जज्जान, बाल्ख, फरयाब, बाघलान, कुन्दुज र हेलमान्ड राज्यमा विगत २४ घण्टामा गरेको कारबाहीमा ९६ जना सशस्त्र लडाकूको मृत्यु भएको छ भने ९३ जना घाइते भएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
मन्त्रालयले दिएको फौजी कारबाहीसम्बन्धी दैनिक जानकारीमा विभिन्न ठाउँमा गरी पाँच जना सुरक्षाकर्मीले सहादत प्राप्त गरेको बताइएको छ ।
सरकारी सुरक्षाफौजले अफगानी तालिवान विद्रोहीलाई लक्षित गरी स्थल तथा हेलिकप्टरसमेतबाट कारबाही गरेको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले कारबाहीका क्रममा सडक वरपर र विद्रोहीले आश्रयस्थल बनाएका स्थानमा विछ्याइएका केही बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थलाई निष्क्रिय पारेको अफगानी अधिकारीले सिन्ह्वालाई बताए ।
विद्रोहीले तथाकथित एनुअल स्प्रिङ अफेन्सिभ अर्थात अपरेसन ओमारी सुरु गरेपछि सरकारी सुरक्षाफौजले प्रतिरक्षात्मक कारबाहीलाई सशक्त पारेको हो
यसबारे तालिवानी विद्रोहीले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।








