मस्को– गैरआवसीय नेपाली संघ रुस र नेपाली राजदूतासको आयोजनामा मस्कोमा नेपाली कला प्रदर्शनी आयोजना गरिएको छ ।
नयाँ वर्ष २०७३ तथा नेपाल–रुस बीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षबन्धनको शन्दर्भमा कला प्रदर्शनीको आयोजना गरिएको हो । नेपाली दूतावासमा आयोजित कला प्रदर्शनीमा दुई कक्षमा चित्रकला राखिएको थियो । एक कक्षमा कलाकारत्रय चन्द्रमान सिंह मास्के, तेजबहादुर चित्रकार र रामानन्द जोशीका कलाकृति राखिएको थियो । कलाकार मास्के र चित्रकारले सन् १९३० तिर नेपाली कलामा पश्चिमेली शैली भित्र्याउनु भएको थियो । त्यस्तै जोशीले नेपालमा मल्लकालदेखि नै प्रचलित तान्त्रिककलालाई पश्चिमेली आधुनिक कलासँग जोडने काम गर्नुभएको थियो ।
दूतावासको अर्को कक्षमा भने यी तीन कलाकारकै अनुशरण गर्दै पश्चिमी शैलीबाट नेपाली कला पराम्परालाई माैलिक रुपमा विकास गर्नेहरुको कला राखिएको थियो ।
सो अवसरमा नेपाली कला क्षेत्रका जानकार प्रशिद्ध कलाकार तथा समिक्षक मुकेश मल्लले विभिन्न मुलुकका कुटनीतिज्ञहरुमाझ नेपाली कला प्रदर्शन गर्ने मौका पाउनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । त्यस्तै रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाले उद्घाटन मन्तव्य व्यक्त गर्दै रुसको सांस्कृतिक राजधानी सेन्ट–पेतेरबुर्गमासमेत नेपाली कला प्रदर्शनीको आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपालबाट रुस आइरहेका नेपाली कलाकारहरुप्रति आधार प्रकट गर्नुभयो ।
कला प्रदर्शनीमा विभिन्न मुलुकका दूतावासका प्रतिनिधिहरु, रुस–नेपाल सहयोग तथा मैत्री समाजका पदाधिकारीहरु, रुसी कलाविदहरु, लेखक–कविहरु, चित्रकार तथा कलाप्रेमीह्ररु, मस्कोमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरुलाई नेपाली राजदूतावास नियोग उपप्रमुख इन्दिरा अर्यालले स्वागत गर्नुभयो ।








