काठमाडौँ – पाकिस्तानको ७६ औँ राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा एक स्वागत समारोहको आयोजना गरियो ।
नेपालस्थित पाकिस्तानी दूतावासद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुहुन्थ्यो । समारोहमा मन्त्रीगण, राजनीतिक पार्टीका नेता, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो ।
सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजार जाभेदले नेपाल– पाकिस्तानबीचको मैत्री सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाउनुका साथै पाकिस्तानसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।








