Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

किन आउँछन् यी बतासहरू
मेरो गाउँको सम्झना लिएर
धुमिल चित्र उघार्दै
तृष्णा मिठो मनको
क्षितिज पारी सपना औंलाएर
मलाई सुटुक्क हिडाएको
बिबशताको गोरेटो
आफै पच्छाउँदै
सँधै याद लिएर

झिसमिसे बिहानै आमाले टुकि बालेर
मुल ढोका अगाडि साइतको गाग्रीमा
आधामा धेर छछल्किएको जीवन
आँखाबाट पोखि झारेर दिएको आशिरवाद
ढोगेर बाटो लागेको
अंधेरों रात चुहेर सकिन अगावै
आँगनमा प्रभातको किरण आएर
मलाई खोज्न अगावै
पुर्खाले जीवन भर कमाएर थमाएको
एउटा कर्मठ बिश्वास साथै लिएर

बादलहरू हात हल्लाई रहेथ्यो
इन्द्रेणी मृदु मुस्कान च्याएर
सपनाको त्यो क्षितिजपारी
पुगोस भन्ने कामना हुनसक्छ
चम्किएका ताराहरू
गोरेटोभरि आएर
मध्यरातमा आकासबाट टिपेर खुशी
दिएथ्यो रातलाई बेखबर बनाई
कतै एउटा ओडार भेटिओस
जिन्दगी नामलाई ओत दिन सकिओस

हिडिरहें
अगाडि पछाडि क्षितिज नाप्दै
म पुग्ने भरोसाको शिखर
जीवनको अनिश्चित यात्रामा
कहाँ भेटिँदो रहेछ सहजै
रहरले बनाएको सपनाको शहर
बरू आफैसँग पच्छाएर आउँदो रहेछ
बाल्यकालमा धुलोमा खेलेको याद
बैशमा गाएको लैबरी भाका
आफ्नै भाषा भेषभुषा संस्कृति
आफू रमाउने सबै चाडबाडहरू
अनि आमाले नबिर्सनु है भनेको
उधौली र उभौली

जहाँ पुगे पनि
आफैसँग हिड्ने रहेछ आफ्नो संसार
आफू एक्लो भनेर के गर्नु
आफ्नोत्वको हुँदोरहेछ भीडभाड
कोरिएका छन् सिमारेखाहरू
फेरि पनि खुला छ मनको मैदान
जहाँ उभिएर
बिश्व बन्धुत्वको भावना फैलाउँन सकूँ
प्रत्येक ठाउँ- प्रत्येक मान्छे
एउटा समाज- एउटा देश
मेटेर सिमारेखा
स्वीकार्न सकूँ
आफै एउटा देश ।

हालः बोस्टन

तपाईको प्रतिक्रिया