काठमाडौं – पहिलो हाफको तीन गोलको मदतले सह-आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४-१ को प्रभावशाली जित दर्ता गरेको छ ।
अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो ।
त्यसपछि खेलको ३१ औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।
अर्काे खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाडेका छन् ।
खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् ।
बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।
क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एक-एक गोलको बराबरीमा टुङ्गियो ।








