टोकियो – जापानका थुप्रै ऐतिहासिक नाटक र टेलिभिजन कार्यक्रमहरूमा आफ्नो बेग्लै छाप छाड्न सफल वरिष्ठ अभिनेत्री तामाओ नाकामुराको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको प्रतिभा व्यवस्थापन एजेन्सीले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, नाकामुराको गत मंगलबार टोकियोस्थित एक अस्पतालमा न्यूमोनियाका कारण निधन भएको हो ।
प्रख्यात ‘काबुकी’ कलाकारको परिवारमा जन्मिएकी नाकामुरा क्योतो प्रान्तकी बासिन्दा थिइन् । उनी प्रसिद्ध काबुकी कलाकार नाकामुरा गान्जिरो द्वितीयकी सन्तान थिइन् । नाकामुराले सन् १९५३ मा, आफू कक्षा ८ मा अध्ययनरत रहँदा नै चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् ।
उनले जापानी चलचित्रका लेजेन्डरी निर्देशक कोन इचिकावाका ‘कन्फ्ल्याग्रेसन’ (सन् १९५८) र ‘बोन्ची’ जस्ता कालजयी चलचित्रहरूमा अभिनय गरेकी थिइन् । यी चलचित्रमा उनले काबुकी र चलचित्रका सुपरस्टार इचिकावा राइजोसँग स्क्रिन साझा गरेकी थिइन् ।
सन् १९६० मा प्रदर्शित ‘बोन्ची’ र ‘दाइबोसाचु तोगे’ मा गरेको उत्कृष्ट अभिनयका लागि उनले जापानको प्रतिष्ठित ‘ब्लु रिबन’ सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड प्राप्त गरेकी थिइन् ।
सन् १९६२ मा उनले अर्का प्रख्यात अभिनेता शिन्तारो काचुसँग विवाह गरिन्। नाकामुराले पतिको अत्यन्तै उतारचढावपूर्ण जीवनमा सधैँ चट्टान झैँ साथ दिइन् । पतिको चलचित्र निर्माण कम्पनी टाट पल्टिँदा होस् वा लागुऔषधको आरोपमा पति पक्राउ पर्दा, उनले पारिवारिक जिम्मेवारी र पतिको साथ कहिल्यै छोडिनन् ।
आफ्नो जीवनको उत्तराद्र्धमा उनी जापानी टेलिभिजनका ‘भराइटी शो’ हरूमा एक नियमित र लोकप्रिय अनुहारका रूपमा देखिइन् । टेलिभिजन पर्दामा उनको हास्यपूर्ण टिप्पणी र सरल व्यक्तित्वका कारण नयाँ पुस्ताका दर्शकहरू माझ पनि उनी निकै प्रिय थिइन् ।








