टोकियो – जापानका सम्राट नारुहितोले राजपरिवारका सदस्यहरूको घट्दो सङ्ख्या र यसको व्यवस्थापनका सम्बन्धमा भइरहेको राजनीतिक बहसप्रति चासो व्यक्त गर्दै जनचाहना र जनसाधारणको बुझाइका आधारमा उचित समाधान निकालिने आशा व्यक्त गरेबा छन् । नेदरल्याण्ड्स र बेल्जियमको राजकीय भ्रमणमा निस्कनुअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सम्राटले यस्तो दुर्लभ अभिव्यक्ति दिएका हुन् ।
यद्यपि, सम्राटले जारी बहसका विषयमा कुनै सिधा राजनीतिक टिप्पणी भने गरेनन् । उनले राजपरिवारको आधारभूत सिद्धान्त नै ‘जनताका सुख र दुःखमा सहभागी हुनु’ रहेको स्मरण गराउँदै भने, ‘मलाई आशा छ कि राजपरिवारको सङ्ख्या सुनिश्चित गर्ने सम्बन्धमा भइरहेका छलफलहरूले सर्वसाधारणको उचित बुझाइ र समर्थन प्राप्त गर्नेछन् ।’
यसअघि शाही गृह एजेन्सीका ‘ग्रान्ड स्टेवार्ड’ बुइचिरो कुरोदाले सम्राट नारुहितो र युवराज फुमिहितोलाई भेटेर राजपरिवारको निरन्तरता सुनिश्चित गर्न संसदमा भएको राजनीतिक सहमतिको प्रतिवेदन पेश गरेका थिए । कुरोदाका अनुसार सम्राटले जनचाहना र संवैधानिक मर्मलाई ध्यानमा राखेर यो समस्या सुल्झियोस् भन्ने चाहना राखेका छन् ।
प्रधानमन्त्री सानाए ताकाइचीलाई बुझाइएको नयाँ कानुनको मस्यौदामा दुईवटा मुख्य परिवर्तनका बुँदाहरू प्रस्ताव गरिएका छन् ।
- राजकुमारीहरूलाई दर्जा कायम राख्न दिइनेस् शाही परिवारका महिला सदस्यहरूले सर्वसाधारणसँग विवाह गरेपछि पनि आफ्नो शाही हैसियत र जिम्मेवारी कायम राख्न पाउनेछन् ।
- धर्मपुत्र भित्र्याउन पाउने व्यवस्थास् सन् १९४७ मा शाही हैसियतबाट अलग गरिएका ११ वटा पुराना शाही शाखाका पुरुष सदस्यहरूलाई वर्तमान शाही परिवारमा धर्मपुत्रका रूपमा ल्याउन अनुमति दिइनेछ ।
जापानको वर्तमान ‘इम्पेरियल हाउस ल’ अनुसार केवल पुरुष मात्र सम्राट बन्न पाउने व्यवस्था छ र महिला सदस्यले विवाहपछि शाही दर्जा त्याग्नुपर्ने हुन्छ । हाल सम्राट नारुहितोका केवल तीनजना उत्तराधिकारी जीवित छन्- उनका भाइ युवराज फुमिहितो, भतिजा राजकुमार हिसाहितो र काका राजकुमार हिताची ।
सङ्ख्यात्मक रूपमा राजपरिवार निकै खुम्चिँदै गएपछि सरकारले चाँडोभन्दा चाँडो शाही कानुन परिमार्जन गरी वर्तमान संसदीय सत्रभित्रै विधेयक पारित गर्ने लक्ष्य राखेको छ । सम्राटको यो पछिल्लो भनाइले राजपरिवारको भविष्यका बारेमा भइरहेको कानुनी प्रयासलाई नैतिक बल पुग्ने विश्लेषकहरूको ठम्याइ छ ।








