टोकियो – जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले पत्रकार सम्मेलनका क्रममा ‘झर्को लाग्यो’ भन्दै बुडबुडाएको भन्ने सामाजिक सञ्जालको दाबीलाई सरकारले औपचारिक रूपमा खण्डन गरेको छ । बुधबार आन्तरिक मन्त्रिमण्डल जनसम्पर्क अधिकारीको आधिकारिक ‘एक्स’ खातामार्फत उक्त भ्रामक सूचनाको सत्यता प्रष्ट पारिएको हो ।
घटना गत मे ८ तारिखको हो । प्रधानमन्त्री ताकाइचीले सत्तारुढ दलको अध्यक्षीय निर्वाचनका क्रममा बाहिरिएको एक भ्रामक भिडियोका सम्बन्धमा स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । सोही क्रममा एक पत्रकारले प्रश्न सोधिरहँदा प्रधानमन्त्रीले मधुरो स्वरमा केही बोलेको दृश्य सञ्चारमाध्यममा कैद भएको थियो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै प्रयोगकर्ताले प्रधानमन्त्रीले ‘दालु–’ (Daru- / झर्को लाग्यो वा कस्तो दिक्क लाग्दो) शब्द प्रयोग गरेको दाबी गरेका थिए । यसले अनलाइनमा ठूलो बहस सिर्जना गरेको थियो; कतिपयले ‘प्रधानमन्त्रीको व्यवहार अशोभनीय’ भएको टिप्पणी गरे भने कतिपयले यसलाई ‘गलत प्रचार’ को संज्ञा दिएका थिए ।
सरकारको आधिकारिक स्पष्टीकरण
यस विवादलाई साम्य पार्न मन्त्रिमण्डल जनसम्पर्क कार्यालयले एक पोस्ट गर्दै भनेको छ, ‘प्रधानमन्त्रीले ‘झर्को लाग्यो’ भन्नुभएको होइन । हामीले स्वयम् प्रधानमन्त्रीसँग पनि यसबारे पुष्टि गरेका छौँ ‘”
स्पष्टीकरणका अनुसार, सो समयमा प्रधानमन्त्रीको अर्को कार्यतालिका सुरु हुन लागेको थियो । हतार भएकाले उनले पत्रकारको दोस्रो प्रश्न सुन्नुअघि बिस्तारै ‘चोत्तो दाइजोबु काना…’ (अबको समय भ्याइन्छ कि नाइँ होला वा अब ठिकै होला त ?) भन्नुभएको थियो ।
जनसम्पर्क अधिकारीले सामाजिक सञ्जालमा प्रसारित भइरहेका गलत र भ्रामक सूचनाहरूमा विश्वास नगर्न नागरिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिलाई लिएर हुने यस्ता सूक्ष्म विवादहरूले जापानको राजनीतिक वृत्तमा सामाजिक सञ्जालको बढ्दो प्रभाव र जोखिमलाई पुनः उजागर गरेको छ ।








