टोकियो – नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका धरोहर एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ सांगीतिक प्रस्तुतिका लागि जापान आइपुगेका छन् । यही जुन १४ तारिख आइतबारका दिन टोकियोमा आयोजना हुने ‘अम्बर विरही गुरुङ सांगीतिक साँझ’ तथा ‘प्रथम जापान लोक तारा-२०२६’ को ग्राण्ड फिनालेमा सहभागी हुन उनी जापान ओर्लिएका हुन् ।
बुधबार नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका वरिष्ठ गायक एवं सर्जक गुरुङलाई प्रतिष्ठानको जापान शाखाका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले भव्य स्वागत गरेका थिए । विमानस्थलमा प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्रराज पौडेल, केन्द्रीय सचिव तथा प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्ल, केन्द्रीय सदस्य सूर्य खड्का, शाखा सचिव दीपक कँडेल ‘सफल’, बागलुङ समाज जापानका अध्यक्ष एवं सल्लाहकार गुरुप्रसाद सापकोटा र सल्लाहकार पीताम्बर चापागाईंलगायतले उनलाई स्वागत गरेका हुन् ।
जापान ओर्लिएलगत्तै स्रष्टा गुरुङले प्रवासी नेपालीमाझ आफ्नो सांगीतिक कोसेली पस्कन पाउने कुराले आफूलाई अत्यन्तै उत्साहित बनाएको प्रतिक्रिया दिए । उनको आगमनसँगै जापानमा रहेका लोकसंगीत प्रेमीहरूमाझ आइतबारको कार्यक्रमप्रति थप रौनक र चासो बढेको छ ।
आयोजकका अनुसार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आइतबार हुने कार्यक्रम नेपाली लोकसंगीत र कलाको एक भव्य उत्सव बन्नेछ । एकातिर अग्रज गायक गुरुङका कालजयी र चर्चित गीतहरूले दर्शकलाई मन्त्रमुग्ध बनाउनेछ भने अर्कोतिर ‘प्रथम जापान लोक तारा-२०२६’ को उपाधिका लागि उत्कृष्ट ५ नवप्रतिभाहरूबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतिष्ठानका केन्द्रीय सचिव एवं निर्णायक संयोजक रामकृष्ण बम मल्लले दिग्गज स्रष्टाको सांगीतिक प्रस्तुति र नयाँ पुस्ताको कडा प्रतिस्पर्धाले कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमको सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठान जापान शाखाका सचिव दीपक कँडेल ‘सफल’ले जानकारी दिए । उनका अनुसार कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन आयोजक टोली अहोरात्र खटिरहेको छ ।
प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्रराज पौडेलले प्रवासमा नेपाली मौलिक कला, लोकसंस्कृति र संगीतको जगेर्ना गर्ने यो अभियानमा जोडिन सम्पूर्ण जापानवासी नेपालीलाई आह्वान गरेका छन् । एउटै मञ्चबाट अग्रजको सम्मान र नयाँ ‘लोक तारा’को घोषणा हुने भएकाले यो सांगीतिक साँझ विशेष हुने आयोजकको दाबी छ ।








