टोकियो – अनलाइन सपिङको बढ्दो लोकप्रियताका कारण संकटमा परेका जापानका भौतिक पुस्तक पसलहरूले ग्राहकलाई आकर्षित गर्न नयाँ र सिर्जनात्मक शैली अपनाउन थालेका छन् । पुस्तक मात्र बेच्ने परम्परागत अवधारणालाई बदलेर अहिले त्यहाँका पुस्तक पसलहरूले जिम, क्याफे, र विशेष लाउन्ज जस्ता सुविधाहरू थप गरिरहेका छन् ।
टोकियोको तोरानोमोनमा हालै खुलेको ‘माग्माबुक्स’ले पाठकहरूका लागि रोचक प्रयोग सुरु गरेको छ । यहाँ ग्राहकले प्रवेशद्वारमै विशेष ‘बुकमार्क’ पाउँछन्, जसमा जीवन र जगत्सँग जोडिएका विभिन्न प्रश्नहरू लेखिएका हुन्छन् । ती प्रश्नको उत्तर खोज्दै पाठकहरू दराजमा रहेका पुस्तकहरूसम्म पुग्छन् । यहाँ विधा अनुसार नभई व्यक्तिगत दराज जस्तै गरी विभिन्न विषयका पुस्तकहरूलाई मिसाएर राखिएको छ, ताकि पाठकले सोच्दै नसोचेका पुस्तकहरूसँग साक्षात्कार गर्न सकून् ।
ओसाकास्थित ‘त्सुताया’ पुस्तक पसलले त पुस्तक पढाइसँगै स्वास्थ्य र मनोरञ्जनलाई पनि जोडेको छ । सन् २०२४ मा पुनर्निर्माण गरिएको यस पसलमा जिम, लाउन्ज र क्याफेको सुविधा छ । यहाँ ग्राहकहरू पुस्तक पढ्दै शारीरिक व्यायाम गर्न सक्छन् भने लाउन्जमा बसेर मदिराको आनन्द समेत लिन सक्छन् । स्टोर म्यानेजर ताकाको नागानोका अनुसार, यो पसल अहिले स्थानीयहरूको सामाजिक भेटघाटको केन्द्र बनेको छ ।
नागोयाको ‘बुन्कित्सु साकाए’ पुस्तक पसलले ‘प्रवेश शुल्क’ लिएर पाठकलाई सेवा दिने नयाँ मोडल अपनाएको छ । निश्चित शुल्क तिरेपछि ग्राहकले पसलभित्रको शान्त वातावरणमा दिनभर बसेर पुस्तक पढ्न पाउँछन् भने उनीहरूका लागि कफी र चिया नि:शुल्क उपलब्ध गराइन्छ ।








