Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

सम्बन्धहरू अदालतमा पुग्नुअघि संवादमा पुग्नुपर्छ । संवाद असफल भएपछि परामर्शमा पुग्नुपर्छ किनभने हत्या कुनै समस्याको समाधान होइन, त्यो त एकैचोटि धेरै जीवनहरू बर्बाद गर्ने अन्तिम त्रासदी हो । एउटा नेपाली चेलीले अनाहकमा ज्यान गुमाउनु दुःखद कुरा हो । हार्दिक श्रद्धाञ्जली ईश्वरी भुजेल ! अब यस्तो नहोस् भन्ने कामना गरौँ ।

नेपालमा पछिल्ला केही वर्षदेखि श्रीमान्-श्रीमतीबिचको विवादले हत्या, आत्महत्या र हिंसाको रूप लिएका समाचारहरू बारम्बार देखिन थालेका छन् । कहीँ श्रीमान्‌ले श्रीमतीको हत्या गरेको खबर आउँछ त कतै श्रीमतीले श्रीमान्‌को हत्या गराएको घटना सार्वजनिक हुन्छ । यस्ता दैनिक घटनाहरूले समाजलाई नकारात्मक दिशातिर धकेलिरहेको छ ।

अब प्रश्न उठ्छ- के आजका मानिसहरू पहिलेभन्दा धेरै अपराधी बन्दै गइरहेका हुन् त ? कि सम्पत्तिको लोभमा समाजले यस्ता अपराधहरू जन्माइरहेको छ ? यदि हाम्रै समाजको गहिराइमा गएर हेर्ने हो भने समस्या केवल सम्पत्तिको मात्र हुँदैन । सम्पत्ति एउटा कारण बन्न सक्ला तर त्यो सबै सत्य होइन । यसको पछाडि सामाजिक, मनोवैज्ञानिक, आर्थिक र सांस्कृतिक कारणहरू देखिन्छन् ।

आजको समाजमा मानिसहरूको अपेक्षा पहिलेभन्दा धेरै बढेको छ । जसरी श्रीमान्‌ले श्रीमतीबाट धेरै अपेक्षा राख्छन्, त्यसैगरी श्रीमतीले पनि श्रीमान्‌बाट अपेक्षा राख्छिन् नै । हो, त्यही दुवैतर्फका अपेक्षाहरू पूरा नहुनेबित्तिकै पारिवारिक कलह र झैझगडा हुँदै सम्बन्धमा दरार सिर्जना हुन्छ र अन्त्यमा दुर्घटना हुन पुग्छ ।

हामीले हाम्रा छोराछोरीलाई स्कुल पठाएर गणितका कठिन सुत्रहरू हल गर्न त सिकायौँ, विज्ञानका जटिल सिद्धान्तहरू कण्ठ गरायौँ, तर विडम्बना ! आफ्नै मनभित्र उठ्ने रिसको ज्वारभाटालाई कसरी शान्त पार्ने र टुट्न लागेको सम्बन्धलाई संवादको त्यान्द्रोले कसरी जोगाउने भन्ने ‘जीवनोपयोगी शिक्षा’ कहिल्यै सिकाएनौँ । जसको परिणाम- आज समाचारका पानाहरूमा श्रीमान-श्रीमतीबिचको हत्या र हिंसाका रक्ताम्मे कथाहरू छताछुल्ल भइरहेका छन् । आवेगको एक क्षणले एउटा सुन्दर परिवार कसरी खरानी हुन्छ र संवादको अभावले सम्बन्धहरू कसरी अदालत र चिहानसम्म पुग्छन् भन्ने एउटा गम्भीर सामाजिक बहसको समय आएको छ ।

सामाजिक सञ्जालहरू पनि परिवार विखण्डनको कारण बन्ने गरेका छन् । सञ्जालहरूले अरूको सुख मात्र देखाउँछन् । मानिसले त्यही कुरा आफ्नो जीवनसँग तुलना गर्न थाल्दा असन्तुष्टि बढ्छ । परिणामस्वरूप परिवारमा सामान्य विवाद हुँदै ठुलो झगडामा बदलिन्छ र परिवार विखण्डनतिर अघि बढ्छ । हाम्रा हजुरआमा र आमाका पुस्ताहरूले धेरै कुरा सहन्थे र पारिवारिक माहोल अभावमा पनि खुसी नै थियो, तर अहिलेका पुस्ताले धेरै कुरा स्वीकार्न सक्दैनन् ।

केही घटनाहरूमा सम्पत्ति साच्चिकै ठुलो कारण बनेको देखिन्छ । घर, जग्गा, बैंक ब्यालेन्स, वैदेशिक रोजगारीबाट कमाएको धन, बिमा रकम वा पैतृक सम्पत्तिको स्वामित्वको विषयले सम्बन्धमा विष घोल्ने काम पनि गरेको छ । जब सम्बन्ध प्रेमभन्दा स्वार्थमा आधारित हुन थाल्छ, तब मानिसले अर्को व्यक्तिलाई जीवनसाथी होइन, सम्पत्तिमा बाधा बनेको पात्रका रूपमा हेर्न थाल्छ । यस्तै सोचले कहिलेकाहीँ अपराधको बाटो रोज्ने गर्दछ ।

सबै घटनाहरूलाई सम्पत्तिसँग मात्र जोड्नु पनि न्यायोचित नहुन सक्छ । नेपालमा धेरै मानिसहरू शैक्षिक रूपमा शिक्षित भए पनि व्यावहारिक रूपमा परिपक्व छैनन् । हामीलाई स्कुलमा गणित सिकाइन्छ, विज्ञान सिकाइन्छ, तर रिस कसरी नियन्त्रण गर्ने भन्ने कुनै पाठ्यक्रममा सिकाइँदैन । त्यसैकारण यस्ता घटनाहरू बढिरहेका हुन् ।

धेरै हत्याहरू योजनाबद्ध हुँदैनन्, ती त क्षणिक आवेग, रिस र प्रतिशोधबाट जन्मिएका हुन्छन् । केही मिनेटको क्रोधले एउटा परिवार समाप्त हुन्छ, एउटा बच्चा टुहुरो हुन्छ र अपराधी स्वयंको जीवन पनि जेलभित्र समाप्त हुन्छ ।

धेरै घरेलु हिंसा र पारिवारिक अपराधमा मदिरा वा अन्य नशाको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका पनि देखिन्छ । नशाले निर्णय क्षमता घटाउँछ, सामान्य विवादलाई आक्रामक बनाउँछ र नियन्त्रण गुमाउँदा हिंसाको सम्भावना बढ्छ । जुन समाजमा नशा बढ्छ, त्यहाँ घरेलु हिंसा पनि बढ्ने सम्भावना रहन्छ ।

सम्पत्ति एउटा कारक हुन सक्ला, तर यो मात्र सत्य होइन; आधुनिक नेपाली समाजमा बढ्दो पारिवारिक अपराधको जरा त हाम्रा मनोवैज्ञानिक रिक्तता र भावनात्मक अपरिपक्वतामा लुकेको छ । वैदेशिक रोजगारीको दूरी, आर्थिक दबाब र सधैँ अरूको सुखसँग आफ्नो जीवन तुलना गर्ने सञ्जालको बानीले मानिसलाई हिंस्रक बनाइरहेको छ । जब मानिसले आफ्नो जीवनसाथीलाई प्रेमी होइन, सम्पत्तिको बाधक देख्न थाल्छ, तब सम्बन्धको अन्त्य विभत्स हुने गर्छ । के हामीले साँच्चै शिक्षित समाज निर्माण गरिरहेका छौँ, जहाँ गणितका हिसाब त मिल्छन् तर जीवनका पाटाहरू सधैँ भद्रगोल भइरहन्छन् ?

सम्बन्धहरू प्रायः घृणाले होइन, संवादको अभावले पनि टुट्छन् । दुईजना एउटै घरमा बसिरहेका हुन्छन् तर एकअर्काको कुरा सुन्दैनन् । समस्या सानो हुन्छ, समाधान खोजिँदैन, मनमा गाँठो बस्छ र त्यो गाँठो वर्षौँसम्म बढ्दै जान्छ । अन्ततः विस्फोट हुन्छ । प्रायः घटनामा हत्या हुने दिन नै अपराध सुरु भएको हुँदैन, त्यो त धेरै वर्षदेखि सञ्चित वितृष्णा र घृणा विस्फोट भएको दिन मात्र हो ।

हामीले हाम्रो समाजका बालबालिकालाई केवल परीक्षा पास गर्ने शिक्षा मात्र होइन, सम्बन्ध व्यवस्थापन, क्रोध नियन्त्रण र संवाद गर्ने कला पनि सिकाउन जरुरी भइसकेको छ । सुरुवाती हिंसालाई ‘घरको कुरा’ भनेर बेवास्ता गर्नु हुँदैन । सानो हिंसा समयमै रोकिएन भने ठुलो अपराधमा बदलिन सक्छ । हरेक परिवारले नियमित रूपमा घरका सबै सदस्यसँग खुलेर गफ गर्ने बानी बसाल्नुपर्छ ।

नेपालमा पति-पत्नीबिच हत्याजस्ता अपराध बढ्नुको कारण केवल सम्पत्ति होइन । सम्पत्ति एउटा कारक हुन सक्ला तर यसको पछाडि भावनात्मक अपरिपक्वता, मानसिक तनाव, नशा, कुराकानीको अभाव, वैदेशिक रोजगारीबाट आएको दूरी, आर्थिक दबाब र सामाजिक परिवर्तनको ठुलो भूमिका छ । समाज तब मात्र सभ्य मानिन्छ जब मानिसहरूले आफ्नो रिसलाई नियन्त्रण गर्न सिक्छन्, आफ्नो स्वार्थलाई कानुनभन्दा माथि राख्दैनन् र सम्बन्धलाई सम्पत्तिभन्दा ठुलो महत्त्व दिन्छन् ।

  • मोहन खतिवडा -टोकियो, जापान 

तपाईको प्रतिक्रिया