Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

टोकियो – जापानको अन्तरिक्ष एजेन्सी ‘जाक्सा’ले शुक्रबार दक्षिण-पश्चिमी जापानको तान्गासिमा अन्तरिक्ष केन्द्रबाट ‘एच-थ्री’ रकेटको सफल प्रक्षेपण गरेको छ । यो जापानको इतिहासमै पूर्ण रूपमा ‘तरल इन्धन इन्जिन’बाट मात्र सञ्चालित पहिलो रकेट उडान हो ।

कागोसिमा प्रान्तस्थित केन्द्रबाट शुक्रबार बिहान ९:५५ बजे उडेको ‘एच-थ्री’ नम्बर ६ रकेटले ६ वटा साना भू-उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुर्‍याएको छ । मौसममा आएको खराबीका कारण यो प्रक्षेपण निर्धारित समयभन्दा दुई दिन ढिलो गरी गरिएको हो ।

यसपटकको रकेटमा पुरानो ढाँचाभन्दा फरक र सरल प्रविधिको प्रयोग गरिएको थियो । यसमा तीनवटा मुख्य इन्जिनहरू रहेका थिए तर ‘सोलिड रकेट बुस्टर’को प्रयोग गरिएको थिएन। जाक्साका अनुसार यो मोडल अन्य एच-थ्री रकेटहरूको तुलनामा हलुका र कम खर्चिलो छ । यस सफल उडानसँगै जापानले आफ्ना तीनवटा फरक ढाँचाका ‘एच-थ्री’ रकेटहरूको शृङ्खला पूर्ण रूपमा तयार गरेको छ ।रकेटले बोकेका ६ वटा उपग्रहमध्ये ‘इन्स्टिच्युट अफ साइन्स टोकियो’ द्वारा निर्मित ‘उमित्सुबामे’ मुख्य हो, जसले उच्च क्षमताको क्यामरामार्फत समुद्रको अवलोकन गर्नेछ । त्यस्तै, सिजुओका विश्वविद्यालयको ‘सिराइतो’ भू-उपग्रहले अन्तरिक्षमा रहेका कबाडी वस्तु वा फोहोर हटाउने प्रविधिको परीक्षण गर्नेछ ।

जापानका लागि यो सफलता निकै ठूलो उपलब्धि हो, किनकि यसअघिका प्रयासहरूमा कडा चुनौती बेहोर्नुपरेको थियो । सन् २०२३ मार्चमा गरिएको पहिलो उडानमा दोस्रो चरणको इन्जिन नबलेपछि रकेटलाई बीचैमा नष्ट गर्न आदेश दिइएको थियो । त्यस्तै, २०२५ डिसेम्बरको प्रक्षेपणले पनि भू-उपग्रहलाई कक्षमा पुर्‍याउन सकेको थिएन । गत जुलाईमा इन्जिन परीक्षणका क्रममा देखिएको समस्याले यस उडानलाई थप पछाडि धकेलेको थियो ।

लामो प्रतीक्षा र निरन्तरको प्रयासपछि भएको यो सफल प्रक्षेपणले अन्तरिक्ष अन्वेषण र व्यावसायिक भू-उपग्रह प्रक्षेपणको विश्व बजारमा जापानको साखलाई थप मजबुत बनाएको छ ।

तपाईको प्रतिक्रिया