Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापानको चर्चित ‘बीफ-बाउल’ रेस्टुरेन्ट चेन सञ्चालक ‘माचुया फूड्स होल्डिङ्स’ले बुधबारदेखि टोकियोको विलासी व्यापारिक क्षेत्र गिन्जास्थित एक डिपार्टमेन्टल स्टोरमा आफ्नो पहिलो ‘हाई-एन्ड’ टेक-आउट (घर लैजान मिल्ने) पसल सञ्चालनमा ल्याएको छ । गुणस्तरीय खानाको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले यो विशेष कदम चालेको हो ।

‘माचुया प्रिमियम’ नाम दिइएको यस पसलमा सात प्रकारका विशेष परिकारहरू उपलब्ध छन् । जसमा ह्योगो प्रान्तको विश्वप्रसिद्ध कोवे बीफबाट तयार पारिएको ‘बीफ बाउल’ १ हजार ३९० येन र जापानी वाग्युबाट बनेको ‘ह्याम्बर्गर स्टेक’ १ हजार ६८१ येन मुख्य आकर्षण रहेका छन् ।

यो पसल गिन्जास्थित प्रसिद्ध ‘माचुया’ डिपार्टमेन्टल स्टोरको भुइँतलामा खोलिएको हो । दुवै कम्पनीको नाम ‘माचुया’ भए पनि उनीहरू फरक व्यावसायिक घराना हुन् । गत वर्ष यी दुई कम्पनीले सोही स्थानमा एक अस्थायी (पप-अप) पसल सञ्चालन गरेका थिए, जसलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले स्थायी रूपमा यो शाखा विस्तार गरिएको हो ।

माचुयाको सामान्य आउटलेटहरूमा एउटा बीफ बाउलको मूल्य ४६० येन मात्र पर्छ र त्यहाँ प्रायः ३० देखि ५० वर्षका पुरुष ग्राहकहरूको भीड हुन्छ । तर, गिन्जाको यस प्रिमियम पसलमार्फत कम्पनीले विशेषगरी गृहिणी र ज्येष्ठ नागरिकहरूलाई आकर्षित गर्ने रणनीति लिएको छ ।

माचुया फूड्सका अनुसार, आगामी दिनमा यस पसलमा मौसमी स्वादका नयाँ परिकार र सहायक परिकारहरूपनि थपिनेछन् । कम्पनीले भविष्यमा देशका अन्य ठूला डिपार्टमेन्टल स्टोरहरूमा पनि यस्तै प्रिमियम शाखाहरू खोल्ने विषयमा विचार गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया