ऊ पूर्ण नारी भइछे रे,
म अपूर्ण नारी छु रे !
ऊ अविवाहित छे रे,
कसैको अधीनमा बस्नु पर्दैन रे।
म विवाहित भएर कसैको अधीनमा बस्छु रे।
ऊ निःसन्तान भएर आकाशमा चरीझैँ उड्न सक्छे रे,
म सन्तानकी आमा भएर जिम्मेवारीमा फस्नुपरेको छ रे।
ऊ ‘बेड मेकिङ’को काम गरेर हप्तामा ८० घण्टा काम गर्छे रे,
म कलेजमा पढाएर विद्यार्थीहरू र कलेजको अधीनमा बस्नुपर्छ रे।
ऊ दिनमा तीन ठाउँमा काम गरेर मेहनत गर्छे रे,
म आरामले कुर्सीमा बसेर विद्यार्थीमाथि हैकम चलाउँछु रे।
ऊ पूर्ण रे, म अपूर्ण छु रे।
ऊ फेसन-फेसनका लुगा लगाएर रेलमा ठेलमठेल गर्दै पसिना बगाउँछे रे,
म आरामले गाडीमा गएर स्वाभिमानी काम गर्छु रे।
उसले भनेकी, ऊ पूर्ण छे रे!
म कसैकी आमा, अनि अपूर्ण हुँ रे!
उसले नेताको चाकरी गरी एउटा कविता लेखेर पुरस्कार पाई रे,
मैले कसैको चाकरी नगरी किताब प्रकाशित गरेर गल्ती गरेँ रे।
उसले भनेकी, ऊ पूर्ण छे रे,
अनि म, आमा, अपूर्ण छु रे!
उसको नजरमा आमा बन्नु गल्ती हो रे,
विवाह गरी घर बसाउनु स्वतन्त्रता हराउनु हो रे।
ऊ समाजसेवा गरी-गरी पूर्ण नारी हुन्छे रे!
म विवाहित, छोराछोरीकी आमा, अनि बुढेसकालमा अलपत्र पर्छु रे।
किनकि ऊ स्वतन्त्र छे रे, अनि म परिवारको चिन्तामा बाँधिएकी छु रे।
किनकि ऊ पूर्ण नारी हो रे,
अनि म विवाहित, अपूर्ण नारी हुँ रे!
हे भगवान्! मलाई पनि अर्को जन्ममा पूर्ण नारी बनाइदेऊ।
किनकि म पनि स्वतन्त्र भएर बाँच्न चाहन्छु,
म पूर्ण नारी भएर रमाउन चाहन्छु!
गृष्मा पौड्याल
टोकियो, जापान
मिति: २०२५ जुन २३
शुभम्।








