युएई – विजया दशमीको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको दशै शुभकामना तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
युएईमा कार्यरत प्रवासी नेपाली संघसंस्थाहरु र व्यक्तिहरु विच शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रको सभापतित्व मञ्चका अध्यक्ष प्रकाश कोइरालाले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा चर्चित गायक बद्री पंगेनीको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरुमा एनआरएनए आइसीसीका मध्यपूर्व संयोजक चन्द्र रोकाहा, एनआरएनए एनसीसी युएईका अध्यक्ष कृष्ण भुषाल, नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत युएईमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रमुख र स्थानीय कलाकारहरु रहेका थिए । मञ्चका महासचिव उत्तम अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक पुरुषोत्तम सुवेदीले राखेका थिए ।
गायक बद्री पंगेनीले आमा विदा पाउँदिन, अहिलेको दशैमा घरमा आउदिन भन्ने गित गाउँदा उपस्थित सबै भाव विह्वल मुद्रामा देखिन्थे । पंगेनीले शुभकामना मन्तव्य राख्दै प्रवासी युवाहरुले परदेशिनुपर्ने बाध्यताको खोजी गर्नुपर्ने र अहिलेको राजनैतिक तरलताले निकास पाएपछि विदेशको अनुभव बोकेर आफ़्नै देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।
औपचारिक कार्यक्रम समापन पछि स्थानीय कलाकारहरुका विभिन्न साँस्कृतिक कार्यक्रमका साथमा विभिन्न खेल र नेपाली स्वादका खाने परिकार मार्फत कार्यक्रम झन रोचक र मनोरञ्जनात्मक बनेको थियो ।***








