‘ओमाए नान दायो…ओरे मो नेपारुजिन दायो…(म पनि नेपाली हो) ।’ घडीको सुईले वेलुकीको आठ बजेर १० मिनेट काटिसकेको थियो । साथीहरु अझै काममा नै व्यस्त देखिन्थे । म भने आफ्नो काम सकेर बाटो तताउने निर्णय गरें । अफिसबाट फटाफट निस्केर स्टेशनतिर हानिंदै गर्दा एकाएक मनले एक क्यान वियर धकेल्ने निर्णय गर्यो । सनकुस (पसल) मा गएर एउटा सानो वियर त किनें तर एक्लै कता गएर खाने ? किनेको एक क्यान वियर पिउने उचित स्थानको खोजीमा सिनओकुवो स्टेशनबाट निस्केपछि दाहिनेतिर रहेको एउटा स्पेशलाई प्रयोग गर्ने निर्णय गरें । त्यहाँ सानो स्पेश छ (पार्क नै त नभनाैं) जहाँ बेलुकीको हावा खाने, वेलुकी कामबाट थाकेर टहलिनेहरु अनि साथीभाईको जमघट गराउने स्थलको रुपमा परिचित ठाउँ हो त्यो, जुन ठाउँलाई केहीले जुलुस चोक पनि भनेर चिन्छौं । वेलावखत त्यहाँ पुराना साथीहरू पनि भेटिन्छन् । मेरा थाकेका पाइलाहरु त्यतैतिर बढ्दै गयो । एक्कासी मेरो कानमा एक विदेशीले बोलेको चर्को जापानी शब्दहरु ठोक्किन पुग्यो -‘ओमाए नान दायो… ओरे मो नेपारुजिन दायो…।’
मैले आवाज आएतिरै ध्यान केन्द्रित गरें । साँझ परिसकेकोले मान्छेहरुको अनुहार मधुरो बत्तिको उज्यालोले त्यति प्रष्टसँग देख्न सकिन्थ्यो । त्यहाँ दुइजना युवाहरु कुस्ती खेलिरहेका थिए भने अर्को एकजनाले छुट्याउने प्रयास गरेझैं गरिहेका थिए । त्यहाँ भएका अन्य मानिसहरु भने रमितेले जादू हेरे झैं ट्वाल्ल परेर हेरिरहेका थिए । हाफ जाँगे लगाएको मोटो, होचो कदको, लामो जुल्फी पालेको एकजना झ्यापुले केटो वारम्वार त्यही शब्द दोहोर्याउँदै अर्को लिखुरे केटोलाई झम्टीरहेको थियो, -‘ओमाए नान दायो… ओरे मो नेपारुजिन दायो…।’ २०/२२ वर्षकोजस्तो देखिने अर्को लिखुरे केटो आफूलाई बचाउने कोशिश गरिहेको थियो । उसको झोला पनि बाटोमा मिल्किएको थियो भने एउटा खुट्टाको जुत्ता पनि फुत्किएको थियो । एकैछिन दुइको घमासान कुस्ती चल्यो । नजिकै रहेको फूल पसलको गमलाहरुले बल्ड्याङ खाए, फूल पसल्नी आत्तिंदै गमला सम्हाल्न थाली । केही क्षण पश्चात लिखुरे केटोले मनमनै हिसाव गर्यो होला-‘यो सँग अब मैले नसक्ने भएँ ।’ त्यसपछि उ भाग्ने प्रयत्न गर्न थाल्यो । भाग्ने क्रममा बाटो पार गरेर पारीतिर जान लाग्दा रातो बत्ती (ट्राफिक लाइट) बलिराखेको थियो । गाडीहरु आफ्नै गतिमा हुइँकिरहेका थिए । भाग्दै पारी जाने क्रममा झण्डै त्यो लिखुरे केटोलाई ट्याक्सीले ठक्कर दिएन । ट्वाल्ल परेर रमिता हेरेका अन्य मानिसहरु पनि एक्कासी आत्तिएको आवाज निकाले ए….ए…ए… आवुनाइ ।
लिखुरे केटो भागेर गईसकेपछि पनि अर्को केटो भने धेरैबेर एक्लै सिंगौरी खेलिरहृयो । रमितेहरूले उसको रीस सेलाउन निकै बेर लागेको लख काटे । उसको साथीले बाटो पारी रहेको पसलबाट वियरका क्यानहरु किनेर ल्याए, अनि दुइजना मिलेर लिखुरेलाई धपाउन सकेको खुशीयालीमा विजयत्सव मनाए, भाइको पराजयमा दाइको शान उचो भो, फेरि उही शब्द दोहोरियो,-‘अोरे मो नेपारूजिन दायो ।’ जोशिलो पारामा दुवैले वियरका क्यान ठोक्काए- ‘खान्पाई…’ ।
त्यहाँको वातावरणलाई नियाल्दा उनीहरुले त्यसभन्दा अगाडि नै थुप्रै वियरका क्यानहरु रित्याएको सजिलै अनुमान लगाउन सकिन्थ्यो । झ्यापुलेको साथीले अगाडि रित्तिएका वियरका क्यानहरु बटुलेर प्लाष्टिकमा हाले झैं गरे अनि भित्तातिर मिल्काए-‘घन्द्रङ्ग’ । त्यो देखेर मलाइ एकजना अग्रजले केही वर्ष अगाडि भनेको कुराको स्मरण गरायो-‘हामी नेपाललाइ जापानजस्तो बनाउन नसके पनि केही हदसम्म जापानलाइ नेपालजस्तो बनाउँछाैं’ । घर फर्किन हतार भए पनि केही बेर मैले उनीहरुको गतिविधी नियाली रहें । उनीहरु भुइँमा पलेटी कसेर वियर घुट्क्याईरहेका थिए । त्यही बाटो भएर आवाजजावत गर्ने वटुवाहरूलाइ देखेर कहिले ङ्वीच्च हाँस्थे त कहिले टाउको निहुराएर सुमिमासेन भन्थे । कुनै-कुनै बेला त्यही अगाडि भनेको जापानी शब्द दोहोर्याई रहन्थ्यो,-‘ओरे मो नेपारुजिन दायो…।’ केहीवेर उनीहरुको क्रियाकलाप हेरेर मैले घरतिर बाटो तताएँ ।
बाटोमा त्यही घटनाले मलाई घचघच्याईरहृयो । घर पुगेपछि खाना खाएर उत्तानो परेर ओच्छ्यानमा पल्टिंएँ । कोठाको सिलिङ्गमा त्यही घटना चलचित्र झैं फनफनी घुमिरहृयो । म निदाउन सकिरहेको छैन, कानमा त्यही शब्द गुञ्जिरहृयो,-‘ओरे मो नेपारुजिन दायो…।’ अनि उत्तरविहीन प्रश्नहरुको थुप्रो मष्तिस्कमा आईरहृयो । किन विदेशमा आएर पनि यसरी आफ्नै दाजुभाई झगडा गर्नुपर्ने थियो होला ? लिखुरे केटोलाई भाग्ने बेलामा गाडीले हानेर तलमाथि भैदिएको भए के हुन्थ्यो होला ? चित्त नबुझेका कुराहरु भए सर-सल्लाह गरेर समाधान गर्न सकिन्थ्यो किन त्यसरी सार्वजनिक ठाउँमा कुर्लिएर कुस्ती देखाउनु पर्ने थियो होला ? हरेक पटक ‘ओरे मो नेपारुजिन दायो…।’ -भनेर गर्जिनुको पछाडि केही वहादुरी पन थियो कि ? गोर्खालीको रगतको कारण होला या अन्य कुनै ? वीर गोर्खालीको चिनारी जापानीहरुमाझ चिनाउने प्रयत्न गरेको हो कि ? गल्ती जसको भए पनि झगडा पश्चात उसले अपरिचित मान्छेहरुलाई मुन्टो झुकाउँदै भनेको ‘सुमिमासेन’ त्यही लिखुरे भाईलाई भनेको भए आफूलाइ कुनै त्यस्तो ठुलै क्षति त हुँदैन्थ्यो होला । आफ्नाले आफ्नैलाइ ‘सुमिमासेन’ भन्न सकिन्न भने अपरिचित मान्छेलाइ भनेर के अर्थ ? लिखुरे भाईले पनि आफूभन्दा ठूलाहरुलाई आदर गरेर झगडा गर्न नै नतम्सिएको भए के हुन्थ्यो होला ? दुनियाँ हसाउँदै बाटोमा लतारिएको लिखुरेको झोला र जुत्ता ततेर्न आफै आउने होला कि के होला ? वेवारिसे बनाएर छाडिएको झोलामा महत्वपूर्ण सामान तथा कागजातहरु थियो कि थिएन होला ? लिखुरेले भाग्ने बेलामा तँलाई पर्खिस् भनेर भागेको थियो उसले फेरि अर्को दिन वदला लियो भने अर्को पटक कुन ठाउँमा दुनिया हँसाउँदै के-के वितण्डा मच्चाउने होला ? छ्या कस्तो निद नआएको …. ।
कोल्टे फेर्छु तर पनि त्यो घटनाबाट ओझेल पर्न सक्दिन । ऋण काढेर छोरालाइ जापान पठाएका वावु आमाका सुन्दर सपनाहरू वियरका क्यानसँगै फोरिए, रित्तिए र चकनाचुर भए भने ? ह्या जेसुकै होस् (कोल्टे फेर्छु) । साँचै हामी नेपाली विदेशमा त केही सिक्न, दुइ चार पैसा भए पनि कमाउन पो आएका हौं त जहिले पनि आफै-आफै किन सँधै लडिरहन्छौं ? विदेशी भूमिमा पनि परेको खण्डमा एकले अर्कोलाइ सहयोग गर्नुको सट्टा एक आपसमा लडेपछि पराइले अोठ लेब्य्राउँदा अनाैठाे मान्नै किन पर्यो र ? लडेर संसार जितिन्न भन्ने अनुभव बटुलिसकेका जापानीहरू माझ हामी नेपालीले वीरका सन्तान हाैं भन्दैमा भाइ-भाइ लडेर केही लछारपाटो लाग्ने वाला छैन । शान्तिका दूत गौतम वुद्धको जन्मभूमि नेपाल र त्यही भूमिमा जन्मेका हामी नेपाली किन सँधै अशान्तिको पक्षमा उभिन्छाैं ? दुइचारजना भेला भएर सानो केही कार्यक्रम गर्न हुँदैन, एक आपसमा लडिहाल्छाैं । नेपालीको पहिचान भनेकै जाँड खाएर लड्ने भन्ने बुझिसकेका छन् जापानी नागरिकहरूले पनि । ‘सके गराैं, नसके नविगाराैं’ भन्ने उक्तिलाइ आत्मासाथ गर्दै नेपाल र नेपालीको उचाइ बढाउनको लागि हो भने ठीकै छ अन्यथा दुनियाँ हँसाउने गरी भाई-भाईको लडाईमा नभने पनि खासै फरक पर्दैन,-‘ओरे मो नेपारुजिन दायो…।’***








