Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरूको विवाद महासंघको केन्द्रीय समितिका लागि सधैँ टाउको दुखाइको विषय हुने गरेको छ। कतिपय साँच्चिकै सम्बोधन गर्नुपर्ने विवाद आइपुग्छन् भने कतिपय अनावश्यक विवाद पनि आइपुग्छन्। विवादको भर्‍याङ बनेका हुन्छन् पार्टीगत पत्रकार संगठनहरू। यहाँ हेरौँः किन र कस्ता विवाद, कुन आवश्यक र कुन अनावश्यक? पार्टीगत पत्रकार संगठनको भूमिका र सिंगो पत्रकार महासंघको संरचना।

वि.सं. २००८ वैशाख ९ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रूपमा महासंघ रहेको छ। वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रूपान्तरण गरिएको हो । विभिन्न १० वटा पत्रकार संघको आबद्धताले महासंघ अर्थात् नेपाल पत्रकार महासंघ बनेको हो । ती संघहरू– खेलकुद पत्रकार मञ्च, चलचित्र पत्रकार संघ, चलचित्र समीक्षक समाज, पत्रकारिता विकास समाज, पत्रकारिता अनुसन्धान तथा तालिम समाज, कार्टुनिष्ट क्लब नेपाल, अनलाइन पत्रकार संघ, फोटो पत्रकार क्लब नेपाल, पर्यटन पत्रकार संघ र नेपाल पत्रकार मञ्च हुन् ।

६ दशकभन्दा लामो इतिहास बोकेको महासंघमा पत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्रसहित १३ हजारभन्दा बढी पत्रकारहरू आबद्ध छन् । प्रत्येक ३ वर्षमा प्रत्यक्ष निर्वाचनबाट यसको नेतृत्व चयन गर्ने प्रचलन रहेको छ । निर्वाचनमा प्रत्येक सदस्यले आ-आफ्नो तोकिएको मतदान केन्द्रमा सशरीर पुगेर मतदान गर्ने गरेका छन्, तर वैदेशिक शाखाका सदस्यहरूले भने सो मतदानमा सहभागी हुन पाउँदैनन् । वैदेशिक शाखा अहिले जम्मा ९ वटा मुलुकमा रहेका छन् । ती हुन्– युके, युरोप, जापान, कोरिया, कतार, युएई, हङकङ, कुवेत र मलेसिया ।

वैदेशिक शाखाहरूबाट सम्भवतः सबैभन्दा धेरै समस्या केन्द्रमा पुग्ने गरेको छ । चुनावका बेला भोटसमेत दिन नपाउने अर्थात् भोट प्राप्त नहुने शाखाहरूका अनगिन्ती समस्यामा अल्झिएर समय बर्बाद गर्न केन्द्रीय समिति इच्छुक देखिँदैन । समस्या कसरी पुग्छ त केन्द्रमा ? प्रत्येक राजनीतिक पार्टीको पत्रकार संगठन रहेको छ । तिनै पार्टीगत पत्रकार संगठनमार्फत भर्‍याङ लगाएर समस्या केन्द्रमा पुग्ने गरेका छन् ।

कसरी राजनीतिक संगठनमार्फत समस्या केन्द्रमा पुग्छ भन्ने बुझ्नका निमित्त प्रत्येक राजनीतिक पार्टीको पत्रकार संगठनको ज्ञान हुनु जरुरी हुन्छ । नेपाली कांग्रेससम्बद्ध प्रेस युनियन नेपाल, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल, नेकपा माओवादी निकट प्रेस सेन्टर नेपाल, जनता समाजवादी पार्टी निकट प्रेस मञ्च नेपाललगायतका संगठन रहेका छन् ।

पार्टीमा आस्था राख्ने पत्रकारहरूले आफ्नो अनुकूल हुँदा चुपचाप रहने र आफ्नो प्रतिकूल हुँदा अनेक बहानामा यो भएन, त्यो भएन भनेर पार्टीगत पत्रकार संगठनमार्फत केन्द्रमा पुर्‍याउने गर्दछन् । समस्या कसरी केन्द्रमा पुग्छ त भन्दाखेरि नेपाल पत्रकार महासंघका पदाधिकारीहरू कांग्रेस, एमाले, माओवादीलगायतका संगठनबाटै पुगेका हुने भएकाले तिनै पदाधिकारीहरूले समस्या दर्ज गरेका हुन्छन् ।

महासंघ केन्द्रलाई जम्मा जिल्ला शाखा – ७६ वटा, प्रतिष्ठान शाखा – ४२, एसोसिएट सदस्य – ११, प्रदेश परिषद् – १०, प्रदेश समिति – १०, केन्द्रीय परिषद्, केन्द्रीय समितिलगायतको व्यवस्थापन गर्नुका साथै सरकारका प्रत्येक नीति–नियम तथा सरकारी क्रियाकलापमा सहयोग गर्नुपर्ने दायित्व रहेकाले उनीहरूलाई वैदेशिक शाखाहरूका समस्यामा अल्झिने समय छैन ।

पत्रकार महासंघका वैदेशिक शाखाहरूमा अत्यधिक समस्या चुलिएको अवस्थामा यसको विकल्प के हुन सक्छ त ? नेपालबाहिर रहने नेपालीहरूले विभिन्न ८७ मुलुकमा गैरआवासीय नेपाली संघ स्थापना गरेको पाइन्छ भने नेपाल पत्रकार महासंघका शाखाहरू पनि अत्यधिक बन्न सक्ने देखिन्छ । तर, थोरै देशहरूमा मात्र शाखा छन् र केही देशमा त्यही देशमा गठन भएका नेपाली पत्रकारहरूको संगठनलाई आबद्धता दिएको दृष्टान्त पनि छ । मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयु) गरिसकेपछि आबद्धता भएको संस्थालाई पनि शाखासरह अधिकार प्रदान गर्न सकिन्छ ।

अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संगठन अमेरिका जर्नालिष्ट एसोसिएसन (नेजा) र अस्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसिएसन (अन्जा) लगायतले एमओयुमार्फत आबद्धता लिएका छन् । नेजा र अन्जा संगठन सार्वभौम र स्वतन्त्र रहन्छन् । ती संगठनभित्र भएका समस्याहरू त्यही संगठनभित्र समाधान हुने गर्छन्, पत्रकार महासंघको केन्द्रमा पुग्दैनन् । यो अनुभव निकै उपयोगी देखिन्छ भने कानुनी रूपमा पनि आबद्धताको प्रचलन आवश्यक देखिन्छ । नेपाल पत्रकार महासंघको सदस्य बन्नका लागि नेपाली नागरिक भएको हुनुपर्ने महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) को धारा ५ (क) मा उल्लेख छ । विदेशमा स्थायी प्रकृतिको बसोबास रहेका युके, युरोपका बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्कलगायत युरोपेली मुलुक र अमेरिकामा रहँदै आउनुभएका पत्रकारहरूले त्यही देशको नागरिकता लिइसक्नुभएको तथा त्यही देशमा स्थायी बसोबासको दस्तावेज लिइसकेको कारण उनीहरू नेपाल पत्रकार महासंघको सदस्य बन्न अयोग्य देखिन्छन् । तसर्थ, पत्रकार रहँदै आएको मुलुकको कानुनअनुकूल नेपाली पत्रकार संगठन बनाई वा शाखा बनिसकेको भए त्यसलाई आबद्धतामा रूपान्तरण गर्नु सबैभन्दा उत्तम विकल्प देखिन्छ ।

पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइन्छ । नेपाल पत्रकार महासंघ नेपाल सरकारसँग मिलेर काम गर्ने अभिन्न अंग हो । यो महासंघ नेपाल सरकारअन्तर्गत दर्ता भएको छ । तसर्थ, यसको कार्यक्षेत्र भनेको नेपालको सीमाभित्र मात्र हो। नेपालको सीमाभन्दा बाहिर कति हदसम्म काम गर्न सक्छ अर्थात् क्षेत्राधिकार हुन सक्छ भन्ने छुट्टै बहसको विषय हुन सक्छ । तर, जुन मुलुकमा रहेको हो, त्यही मुलुकको कानुन पालना गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले पनि सिधै काठमाडौँबाट निर्देशन एवं सञ्चालन हुने संगठन अन्य मुलुकमा सञ्चालन गर्नु अवैधानिक ठहर्छ । नयाँ प्रविधि, यातायातको सुविधा र ट्र्याकिङको सहजताले विश्व नै कस्मोपोलिटन एक गाउँ बनेको छ । विश्वको कुनै पनि कुनामा बसेर खराब स्टाटस मात्र लेख्यो भने तुरुन्त पक्राउ गर्न सकिन्छ भने देशको सिमानाको महत्त्व घट्दो होला । तथापि, संघसंस्थाको क्षेत्राधिकार तोकिने परम्परा पुरानै रहेको छ ।

महासंघको विधानको धारा ५ (३) ले प्रत्येक वर्षको चैत मसान्तभित्र सम्बन्धित शाखामा सदस्यता नवीकरण गराउनुपर्नेछ भनेको छ । परदेशमा आफ्नो पेसा गर्दै पत्रकारिता गर्नेका निमित्त यो निकै चुनौतीपूर्ण पनि हुने भएकाले शाखाका रूपमा भन्दा आबद्धता लिनु वाञ्छनीय देखिन्छ ।

अर्कै देशमा रहेर नेपाल पत्रकार महासंघको सदस्यता बोक्नु कति सान्दर्भिक छ भन्ने सवाल पनि उठ्न सक्छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय पत्रकार सञ्जाल इन्टरनेसनल फेडरेसन अफ जर्नालिष्ट्स (आईएफजे) र इन्टरनेसनल फ्रिडम अफ एक्सप्रेसन एक्सचेन्ज (आईएफईएक्स) को पूर्ण सदस्य भएकाले युके र युरोपमा रहेका पत्रकार महासंघका सदस्यहरूले आईएफजेको कार्ड आईएफजेको केन्द्रीय कार्यालय पेरिसबाट प्राप्त गर्दै आएका छन् । सम्भवतः पत्रकार महासंघको शाखा र शाखाको सदस्य हुनुको मुख्य फाइदा यही हुन सक्छ । यदि पत्रकार महासंघको शाखाबाट आबद्धता लिएको संस्थाका रूपमा रूपान्तरण हुने र त्यो आबद्धता भएको संस्थाको सदस्यले पनि आईएफजेको सदस्य कार्ड पाउन सक्छ भने नेपाल पत्रकार महासंघ युके र युरोपले आबद्धता भएको संस्थामा रूपान्तरण हुन कुनै साइत पर्खनु हुँदैन ।

महासंघको विधानको धारा २८, शाखाको गठनअन्तर्गतको उपधारा (६) मा “विदेशमा वैधानिक रूपमा रहेका नेपाली पत्रकारहरूले गठन गरेको संस्थालाई वैदेशिक शाखाको मान्यता दिइनेछ । त्यस्तो शाखाका अध्यक्षले र अध्यक्ष उपस्थित हुन नसक्ने अवस्थामा कार्यसमितिको निर्णयबमोजिम एक जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन पाउनेछ” भनिएको हुँदा यो बुँदाले शाखा र आबद्धता लिएको संस्थाबीच समानता देखाउँछ । कारण, पत्रकार महासंघको वैदेशिक शाखाको प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउन पाउँछ, तथापि मतदान गर्न पाउँदैन । यो बुँदाले शाखा र आबद्धतालाई एउटै वर्गमा राखेको छ ।

ख्याल गर्नुपर्ने चाहिँ एक देशमा एउटै मात्र नेपाली पत्रकार संगठनसँग आबद्धताको सम्झौता गर्नुपर्छ । आबद्धताको प्रावधानले दुवैतर्फ महासंघ केन्द्र र विदेशस्थित पत्रकार संगठन कानुनी रूपमा पनि सही क्षेत्राधिकारभित्र रहनेछन् । विदेशमा रहेका पत्रकार तथा अर्धपत्रकारले विदेश घुमाउन ल्याउँछु, कुनै आकर्षक वस्तु ल्याइदिन्छु, ठूला नेतालाई सोर्सफोर्स गरिदिन्छु आदि अवाञ्छित कार्यहरू बन्द हुनेछन् । त्यसो भए पत्रकार महासंघले यो कदम तुरुन्त किन नचाल्ने ?

अन्तमा, आबद्धता रहेको संस्था स्वतन्त्र र सार्वभौम रहनेछ। ती संस्थाभित्रको आन्तरिक समस्या पत्रकार महासंघको केन्द्रमा पुग्नेछैन । तर, शाखाकै रूपमा रहँदा शाखाभित्रका आवश्यक–अनावश्यक आन्तरिक समस्याहरू केन्द्रमा पुग्ने भएकाले यो महासंघ केन्द्रको ठूलो टाउको दुखाइको विषय बनेको छ । यस सन्दर्भमा देशबाहिरका शाखाहरूलाई आबद्धतामा रूपान्तरण गर्ने, अर्कै नाम राखे पनि हुने वा लोगो र नाम चलाउन दिए पनि हुने, तर विदेशका प्रत्येक शाखाले एमओयु गर्नुपर्ने र गराउनुपर्ने प्रावधान सबैका लागि सधैँ कल्याणकारी हुने देखिन्छ । वैदेशिक शाखाका सम्बन्धमा दलगत पत्रकार संगठनहरूको अनावश्यक रडाकोसमेत समाप्त हुने थियो ।

लेखकः नेपाल पत्रकार महासंघ युकेका सचिव हुन् ।

तपाईको प्रतिक्रिया