टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम आयोजना हुने भएको छ । ‘अछाम सेवा समाज जापान’को ब्यानरमा हुन लागेको यो भेटघाट कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै मौलिक परिवेशको अनुभूति गराउने लक्ष्य राखेको छ ।
आगामी अगस्ट २ तारिख (आइतबार) का दिन चिबा केनस्थित रमणीय साकुराचुचुमी पार्कमा यो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १२ बजेबाट औपचारिक रूपमा बार्वेक्यू सुरु हुने भए तापनि व्यवस्थापकीय सहजताका लागि आयोजकले सहभागीहरूलाई ३० मिनेट अगावै उपस्थित हुन अनुरोध गरेका छन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सुदूरपश्चिमको प्रसिद्ध ‘देउडा’ खेल रहनेछ । यसका साथै गजल वाचन, क्यारिकेचर, परम्परागत मटका फुटाउने खेल तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकको तयारी छ । विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न यस्ता गतिविधिहरू कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
कार्यक्रम संयोजक रविन रावलका अनुसार यो भेला कुनै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जापानबासी अछामीहरूलाई एउटै सूत्रमा बाँध्नका लागि आयोजना गरिएको हो । उनले भने, ‘हाम्रो उद्देश्य जापानका विभिन्न सहरमा छरिएर रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै थलोमा भेला गराई सुख-दुःख साटासाट गर्ने र समुदायलाई थप सशक्त बनाउनु हो ।’
त्यस्तै, उप-संयोजक नरेश भण्डारीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्पूर्ण अछामी समुदायलाई सपरिवार सहभागी भई कार्यक्रमको शोभा बढाइदिन अपिल गरेका छन् ।
कार्यक्रममा सहभागिताका लागि विभिन्न वर्गलाई लक्षित गरी सहुलियतपूर्ण शुल्क निर्धारण गरिएको छ । जसमा विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था छ भने परिवारका लागि ५ हजार येन भन्दा माथि स्वैच्छिक सहयोग तोकिएको छ ।








