Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

ऋषिपञ्चमी र हरितालिका तीजको नाममा चिनिने यो चाड नेपालको पचास प्रख्यात चाड मध्येमा पर्दछ । निराहार (केहि पनि नखाइ), जलाहार (पानी, कालो चिया र सर्बत खाएर) अथवा फलाहार (फलफूल खाएर) ब्रत बस्ने चलन भए ता पनि पूजा र ब्रत नै नबसी, यो चाड लोप हुन्छ कि भन्नुभन्दा पनि झन रमाइलोसंग तीज मनाउने चलन पाईन थालेको छ ।

पहिले पहिले बाहुनक्षेत्री अर्थात तागाधारी हिन्दु समुदायले मात्रै मनाउने पर्व तीज अब भने देशका बिभिन्न समुदायले धुमधामसंग मनाउन थालेका छन  । माता पार्वतीले भगवान शिव पाऊं भनेर बसेको ब्रतको इतिहास बोकेको यो चाड अहिले महिलाहरु बीच रमाइलो गर्ने अवसरको रुपमा आएको छ । महिलाहरु विशेष गरी घरपरिवार अनि सुख दुःखका कुराहरु मिसाएर टुक्का बनाउथे । गीतमा सासु बुहारी सम्बन्ध अनि कर्म घरमा पाएका दुःखहरुलाई मार्मिक भाकामा प्रस्तुत गरिन्थ्यो । कतिपय टुक्काहरुले माहोललाई हाँसोमय बनाइदिन्थ्यो भने कुनै टुक्का सन्देशमुलक पनि हुन्थ्यो । बिहान दैलो पोत्ने बेला नहुञ्जेल मादल घन्किन्थ्यो । अनि रातको चकमन्नमा परपरसम्म गुञ्जिने भाकाले अन्य महिलारुलाई पनि खिचेर ल्याउथ्यो ! नाच्न जान्नेहरु त कम्मर मर्काइ मर्काइ नाच्थे । नाच्न नजान्नेहरुलाई पनि तानीतानी नचाईन्थ्यो ।

समयसंगै फ़ेरिएको समाजमा हिजोआज मादल घन्काएर मौलिक गीत गाएर नाच्नुभन्दा रेकर्डेड गीत घन्काएर नाच्ने चलनको विकास भएको छ । आजभोलि महिलाहरुले दुःखका गीत नभएर सुख र सम्पन्नताको गीत गाउनु आफैमा राम्रो कुरा हो, तर यही सम्पन्नता संगै विस्तारै विकृतिहरु देखा पर्न थालेका छन।  यसैगरी महिनौ अघि देखि सुरु हुने गीत विशेष दरखाने प्रचलनले माइतीमा गई दर खाने महत्वलाई बिर्साइदिएको छ ।

गीत विशेष कन्सर्टहरुको आयोजनाले साथीसंगीको सामिप्यतालाई अर्कै तरिकाले परिभाषित गरेको छ । लुगा अनि गरगहनामा भएका तडकभडकले इर्ष्या अनि डाहाको वातावरण सिर्जना गरिदिएको छ तर यसो भन्दैमा महिलाहरुमा तीजको महत्वमा कमी आएको भने होइन । परिवर्तनको नाममा चाडपर्वलाई उल्लासमय बनाउनु राम्रो होला तर त्यसले पार्न सक्ने नकरात्मक असरप्रति पनि ख्याल राख्नुपर्ने देखिन्छ । ***

 

(लेखक गुरुङ कास्की पोखरा समाजका वरिष्ठ उपाध्यक्ष हुन )

तपाईको प्रतिक्रिया