अमेरिका-विश्व साइकल यात्री शौरभ दाहलले अमेरिकाको सबैभन्दा लामो दूरीको यात्रा गर्ने भएका छन् । हालै विश्व भ्रमणका क्रममा अमेरिका आइपुगेका दाहालले न्यूयोर्क राज्यदेखि क्यालिफोर्निया राज्यको लस एन्जलससम्मको तीन हजार ८० माईल अर्थात दुइसय ६० घण्टा लामो साइकल यात्रा तय गर्न लागेका हुन् ।
यात्रा सम्पन्न गर्नका लागि दाहालले अमेरिकास्थित विभिन्न बहुराष्ट्रिय कम्पनीलाई प्रायोजनका लागि अनुरोध गरिसकेका छन् । ‘केही कम्पनीहरुबाट सकारात्मक उत्तर पाएको छु’ दाहालले भने ‘उनीहरुको अन्तिम निर्णयमा प्रतिक्षामा छु ।’ यात्राको प्रायोजनका लागि विभिन्न बहुराष्ट्रिय कम्पनीहरु इच्छुक भएकाले आफू उत्साहित भएको दाहालले बताए । 
‘सगरमाथाको र बुद्ध जन्मिएको विश्वको सुन्दर हिमाली देश नेपालको एकपटक भ्रमण गरौं’ तथा ‘वातावरण संरक्षणका लागि साइकलको प्रयोग गरौं’ भन्ने नारासहित विश्व भ्रमणमा रहेका दाहालले अमेरिका यात्राका क्रममा अन्य विभिन्न गतिविधिहरु पनि गर्नेछन् । यसक्रममा दाहालले भ्रमण सम्पन्न गरेका चार दर्जनबढी राष्ट्रको यात्रा अनुभव समेटिएको यात्रासंस्करण समेत प्रकाशन गर्नेछन् । लेखक राजन थपलियाले अमेरिकी प्रकाशन गृह मार्फ प्रकाशन गर्ने दाहालको उक्त यात्रा संस्करणमा दाहालको विगतदेखि वर्तमानसम्मको अनुभव समेटिनेछन् ।
यसैगरी अमेरिका बसाइका क्रममा दाहालले सुमन योञ्जनद्धारा लिखित प्रमोद खरेलको स्वर रहेको ‘यो कस्तो परित्याग हो’ बोलको गीतको म्युजिक भिडियोमा समेत अभिनय गर्दैछन् । म्यूजिक भिडियोलाई न्यूयोर्कमा बस्दै आएका बुद्ध तामाङले निर्देशन गर्नेछन् ।
यसैबीच दाहाललाई अमेरिकास्थित ‘नेपलिज एशोशिएशन अफ साउथइष्ट अमेरिका (नाशा)’ र ‘एशोशिएन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)’ ले संयुक्तरुपमा आयोजना गरेका नवौं सम्मेलनमा सम्मान गरिएको छ । ‘विश्वभरी घुमेर नेपालको झण्डा पुर्याएर नेपाल, नेपाली र बुद्धको नाम राखेर अतुलनीय काम गरेको’ भन्दै दाहाललाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा दाहालले आफ्नो यात्राको अनुभव समेटिएको बृत्तचित्र प्रर्दशन गरेका थिए ।
महादेशिय आधारमा लगभग विश्व साइकल यात्रा पूरा गरिसकेका दाहालले यात्रा सम्पन्न पश्चात अमेरिका वा क्यानडामा ‘ट्राभल्स एण्ड टुरको’को औपचारिक शिक्षा लिएर नेपाल फर्कने योजना बनाएका छन् ।
तपाईको प्रतिक्रिया









