
टोकियो – अमेरिका र इरानबीच युद्धविराम विस्तार तथा इरानको आणविक कार्यक्रमबारे सम्भावित सम्झौता नजिक पुगे पनि अझै केही मुख्य विषयमा सहमति जुट्न बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
बीबीसीले राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौतामा हस्ताक्षर गर्ने चरणमा पुगेका हुन् कि होइनन् भनेर सोध्दा भान्सले दुई पक्षबीच सम्झौता कहिले वा हुन्छ कि हुँदैन भन्ने विषयमा अहिले नै भन्न हतार हुने बताए । प्रस्तावित सम्झौताले ६० दिनका लागि युद्धविराम विस्तार गर्ने र इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता सुरु गर्ने बताइएको छ ।
यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले ट्रम्प र इरानी नेतृत्वको स्वीकृति बाँकी रहने गरी दुई देशबीच सम्झौताको प्रारूपमा सहमति भएको बताएका थिए । तर इरानको अर्ध-सरकारी समाचार संस्था तस्निमले सम्झौता अझै अन्तिम रूप नपाएको जनाएको छ ।
बिहीबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भान्सले वार्ताकारहरू “केही शब्दावली र भाषागत विषयमा” छलफल गरिरहेको बताए । उनका अनुसार ती विषयमध्ये इरानको युरेनियम संवर्धनसम्बन्धी प्रश्न पनि मुख्य छ ।
“हामी अझै त्यहाँ पुगेका छैनौं, तर निकै नजिक छौं । हामी यसमा काम जारी राख्छौं,” भान्सले भने ।
अमेरिकाले लामो समयदेखि इरानलाई उच्च संवर्धित युरेनियम उत्पादन रोक्न र आफूसँग रहेको मौज्दात हटाउन दबाब दिँदै आएको छ । यस्तो युरेनियम सैद्धान्तिक रूपमा आणविक हतियार निर्माणमा प्रयोग हुन सक्ने अमेरिकी दाबी छ ।
अप्रिल ८ मा अमेरिका र इरानबीच प्रारम्भिक युद्धविराम लागू भएयता राष्ट्रपति ट्रम्पले दुई पक्ष सम्झौतानजिक पुगेको र वार्ता अघि बढिरहेको दाबी पटक–पटक गर्दै आएका छन् । तर अहिलेसम्म ठोस परिणाम देखिएको छैन ।
युद्ध अन्त्य गर्न ट्रम्पमाथि खाडी क्षेत्रका अमेरिकी साझेदार राष्ट्रहरू, युद्धको विरोध गरिरहेका डेमोक्र्याटहरू र द्वन्द्व लम्बिएको भन्दै चिन्ता व्यक्त गरिरहेका केही रिपब्लिकन सांसदहरूको दबाब बढ्दै गएको छ ।
बिहीबार सम्भावित सम्झौताबारे आएका परस्पर विरोधाभासी सूचनाले वार्ताको अवस्था अझै तरल रहेको देखाएको छ । दुवै देशले एक–अर्काका दाबी खण्डन गरेका छन् भने प्रस्तावित सम्झौताबारे थोरै मात्र विवरण सार्वजनिक गरेका छन् । ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले “विकल्प बी” अर्थात् पुनः सैन्य कारबाहीमा फर्किने सम्भावना अझै टेबलमै रहेको चेतावनी दिएका छन् ।
युद्धविराम विस्तार भएमा अमेरिका र इरानका वार्ता टोलीलाई अझ जटिल र प्राविधिक विषयमा छलफल गर्ने समय मिल्नेछ । विशेषगरी इरानको आणविक कार्यक्रम र बाँकी रहेको उच्च संवर्धित युरेनियमको मौज्दातबारे वार्ता केन्द्रित हुने बताइएको छ ।
सम्भावित सम्झौताअनुसार होर्मुज जलडमरूमार्गमा “अवरोधरहित” आवागमनको अनुमति दिने विषय पनि समावेश हुन सक्ने बताइएको छ । इरानले उक्त साँघुरो समुद्री मार्गबाट माइन हटाउन ३० दिन पाउनेछ ।
यससँगै अमेरिकाले आफ्नो नाकाबन्दी हटाउने र इरानलाई पुनः तेल बिक्री गर्न अनुमति दिने गरी प्रतिबन्धमा छुट दिने सम्भावना पनि उल्लेख गरिएको छ ।
बुधबार इरानी सरकारी सञ्चारमाध्यमले दुई देशबीचको १४ बुँदे अनौपचारिक समझदारीपत्रको मस्यौदा भन्दै केही विवरण सार्वजनिक गरेका थिए । त्यसमा इरानी बन्दरगाहमाथि वाशिङ्टनले लगाएको नौसैनिक नाकाबन्दी हटाउने, अमेरिकी सेना इरानको “नजिकको क्षेत्र”बाट फिर्ता गर्ने र होर्मुज जलडमरूमार्गमा गैरसैन्य आवागमन पुनः सुरु गर्ने विषय उल्लेख थियो ।
तर ह्वाइट हाउसले उक्त मस्यौदालाई “पूर्ण रूपमा बनावटी” भनेको छ । विश्वको करिब पाँचमध्ये एक भाग तरल प्राकृतिक ग्यास र तेल सामान्यतया होर्मुज जलडमरूमार्ग हुँदै आवतजावत गर्छ । यसको अवरोधले विश्वव्यापी इन्धन व्यापारमा असर पारेको छ ।
बिहीबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता भएको पुष्टि गर्न अस्वीकार गरे । “राष्ट्रपतिभन्दा अघि बढेर बोल्नु सधैं गल्ती हुन्छ,” उनले भने, “अन्तिम निर्णय राष्ट्रपतिले नै गर्ने हो ।”
कुनै सम्भावित शान्ति सम्झौतामा इरानका लागि “पुनर्निर्माण” समावेश हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, “पहिले सम्झौतासम्म पुग्नुपर्छ, त्यसपछि मात्र त्यसपछिका विषयमा जान सकिन्छ ।”
यसैबीच पछिल्ला केही दिनमा अमेरिका र इरान दुवैले एक–अर्कामाथि नाजुक युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले बिहीबार क्षेत्रीय अमेरिकी अखडालाई निशाना बनाएको दाबी गरेको छ । त्यसअघि राति अमेरिकाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमण गरेको बताइएको थियो ।
इरानी सरकारी सञ्चारमाध्यमले बिहीबार इरानी सेनाले अमेरिकी विमान, सम्भवतः ड्रोन, खसालेको दाबी गरे । तर अमेरिकी सेनाको सेन्ट्रल कमान्डले उक्त दाबी अस्वीकार गर्दै भन्यो, “कुनै पनि अमेरिकी विमान खसालिएको छैन । सबै अमेरिकी हवाई साधन सुरक्षित छन् ।” ***
स्रोत : बीबीसी








