काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अर्थतन्त्रलाई बलियो बनाउन र विदेशी मुद्रा सञ्चिति जोगाउन नागरिकहरूसमक्ष विशेष आग्रह गरेका छन् । आइतबार तेलङ्गानाको भ्रमणका क्रममा सिकन्दरावादमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उनले आगामी एक वर्षसम्म सुन नकिन्न र भान्छामा प्रयोग हुने खाने तेलको खपत कम गर्न अपिल गरेका हुन् ।
हैदरावादमा विभिन्न विकास आयोजनाहरूको उद्घाटन र घोषणापछि आयोजित सभामा मोदीले ‘देशभक्ति’को नयाँ परिभाषा दिँदै आर्थिक अनुशासनमा जोड दिए । उनले भने, ‘देशका लागि मर्नु मात्र देशभक्ति होइन, देशका लागि बाँच्नु र आफ्नो कर्तव्य निभाउनु पनि देशभक्ति हो ।’
विदेशी मुद्रा खर्च हुने मुख्य वस्तुहरूमा सुन र खाने तेल रहेको उल्लेख गर्दै मोदीले यसमा कटौती गर्न आग्रह गरे । ‘खाने तेल आयातका लागि हामीले ठूलो परिमाणमा विदेशी मुद्रा खर्च गर्नुपर्छ । हरेक खानामा तेलको प्रयोग केही कम गरे त्यो देशभक्तिको काम हुनेछ,’ उनले थपे, ‘यसबाट देशको ढुकुटीको स्वास्थ्य पनि सुध्रनेछ र परिवारका सदस्यहरूको स्वास्थ्य पनि राम्रो हुनेछ ।’
सुन खरिदका बारेमा बोल्दै उनले थपे, ‘एउटा समय थियो जब सङ्कट आउँदा मानिसहरूले देशका लागि सुन दान दिन्थे । आज दान चाहिएको छैन, तर देशहितका लागि हामीले वर्षभरि घरमा कुनै कार्यक्रम भए पनि सुनका गहना नकिन्ने सङ्कल्प गर्नुपर्छ ।’ विदेशी मुद्रा बचाउनका लागि हाम्रो देशभक्तिले हामीलाई चुनौती दिइरहेको उनले दाबी गरे ।
विश्वभर देखिएको सप्लाई चेनको समस्या र छिमेकी क्षेत्रमा जारी युद्धका कारण भारतको अर्थतन्त्रमा गम्भीर असर परेको मोदीले बताए । भारतसँग पर्याप्त तेलका कुवा नभएकाले पेट्रोल, डिजेल र ग्यासका लागि अन्य देशको भर पर्नुपर्ने बाध्यता उनले सुनाए । युद्धका कारण इन्धन र मलको मूल्य आकाशिएको भन्दै उनले सरकारले नागरिकमाथि बोझ पर्न नदिन सारा भार आफैँले काँधमा उठाएको जिकिर गरे ।
प्रधानमन्त्री मोदीको यस अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल कंग्रेसले कडा निन्दा गरेको छ । कंग्रेस महासचिव केसी वेणुगोपालले प्रधानमन्त्रीले अर्थतन्त्र बचाउन आपत्कालीन योजना ल्याउनुको साटो जनतालाई दुःख दिने काम गरेको आरोप लगाए । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘यो अत्यन्तै शर्मनाक र गैरजिम्मेवार कुरा हो कि प्रधानमन्त्रीले ऊर्जा सुरक्षा सुनिश्चित गर्नुको सट्टा आम नागरिकलाई नै समस्यामा पारिरहेका छन् । जब चुनाव र निम्न स्तरको राजनीति प्राथमिकतामा पर्छ, तब नतिजा आर्थिक विनाश नै हुन्छ ।’
पछिल्लो समय इरान, इजरायल र अमेरिकाबीचको बढ्दो भूराजनीतिक तनावका कारण विश्व बजारमा सुनको मूल्यमा ठूलो वृद्धि देखिएको छ । अस्थिरताका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनमा लगानी गर्न आकर्षित भएका छन् । यसका साथै विश्वका विभिन्न केन्द्रीय बैङ्कहरू (चीन, भारत, पोल्यान्ड, टर्की आदि) ले अमेरिकी डलरमाथिको निर्भरता घटाउन ‘रिजर्भ एसेट’ का रूपमा सुनको भण्डार बढाइरहेका छन् । सन् २०२२ देखि सुरु भएको यो क्रम सन् २०२५ मा आइपुग्दा अझ तीव्र भएको छ, जसले गर्दा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।








